Main News

चार महिनामा पनि भएन कोरोना बीमाको भुक्तानी: किन भइरहेको छ ढिलाई ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २२ गते ६:०२
चार महिनामा पनि भएन कोरोना बीमाको भुक्तानी: किन भइरहेको छ ढिलाई ?(भिडियो रिपोर्टसहित)

२२ माघ २०७७ काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भूक्तानी तीनभित्र दिन निर्देशन दिएपनि महिनौँसम्म बिमितले भुक्तानी पाउन सकेका छैनन् । कोरोना संक्रमण भए उपचारका लागि आर्थिक भार कम हुने अपेक्षासहित बीमा गराएका सेवाग्राही भुक्तानीका लागि पटकपटक कार्यालय धाउन बाध्य छन् । नियमकारी निकायले भने भेरिफिकेसनमा बढि समय लागेको रटान दोहोर्‍याइरहेको छ ।

कतिपयले ६ महिनासम्म पनि रकम पाएका छैनन् । जसको कारण कोराना बीमा गरेकाहरु सेवाग्राही बीमा कम्पनी धाउन बाध्य भएका छन् । बीमा कम्पनीहरूले भेरिफिकेसन प्रक्रियामै रहेको भन्ने जवाफ मात्र दिने गरेका छन ।

बीमा समितिले भने पछिल्लो समय कोरोना संक्रमणको नक्कली रिपोर्ट देखाएर बीमा दावी पर्ने गरेका कारण छानबिनमा समस्या लागेको तर्क गर्न थालेको छ । समितिले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट रुजु गराउँदै आएको छ । रुजु गर्न नै समय लागेकाले भुक्तानीमा ढिलाई भएको तर छिटो भुक्तानी गर्ने गरी काम गरिरहेको समितिको दावी छ ।

अहिलेसम्म ६४ हजार २ सय ९५ जनाले कोरोना बीमाका लागि दाबी गरेका छन् । जसमध्ये ३५ हजारले मात्रै भुक्तानी पाएका छन् । अर्थमन्त्री नियुक्त भए लगत्तै विष्णु पौडेलले बीमा दाबी गरेको सात दिनमा भुक्तानी दिन निर्देशन दिनुभयो । त्यो कार्यान्वयन नभएपछि ३ दिनमै भुक्तानी गर्न अर्को निर्देशन दिनुभयो । यो पनि कार्यान्वयन हुन नसकेपछि अर्थ मन्त्रालय नै लाचार बनेको छ । राज्यले घोषणा गरेको कार्यक्रम भएकोले प्रभावकारी कार्यान्यनका लागि ताकेता गरिरहेको मन्त्रालयको भनाइ छ ।

सरकारले बिमक संघबाट मात्र भुक्तानी गर्न एकद्वार नीति बनाएको छ । तर भुक्तानीमा भइरहेको अनावस्यक ढिलाईले हजारौं सेवाग्राही मारमा परेका छन् । यसले बीमाप्रति नै नागरिकको विश्वास घट्ने खतरा छ । त्यसैले सरकार बीमा कम्पनीले पहिले गरेको प्रतिबद्धता अनुसार छिटो भन्दा छिटो भुक्तानी गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *