Main News

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा भोलिका लागि आमहड्ताल घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २१ गते १५:१२
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा भोलिका लागि आमहड्ताल घोषणा (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सरकारले असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा बिहीबार देशव्यापी आमहड्ताल आव्हान गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गरेर प्रचण्ड–नेपाल समूहले सरकारको असंवैधानिक कदमविरुद्ध आमहड्ताल आव्हान गर्नुपरेको जनाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्र रक्षाका लागि बाध्य भएर आफुहरुले आमहड्ताल आव्हान गर्नुपरेको बताउनुभयो ।

सरकारको प्रतिगमनकारी कदमविरुद्ध आन्दोलनरत रहेकै बेला असंवैधानिक र गैरकानूनी ढंगले संवैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाएपछि जनतालाई असहज हुने कार्य गर्न आफुहरु बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “सरकारको प्रतिगमनकारी कदमविरुद्ध संविधान र लोकतन्त्र रक्षाका लागि शान्तिपूर्ण आन्दोलनरत रहेकै बेला असंवैधानिक, गैरकानूनी ढंगले लोकतान्त्रिक मुल्य मान्यता र नजिरहरुलाई पूरै उपेक्षा गरेर संवैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएपछि हामीले आमहड्ताल कार्यक्रम बाध्यात्मक रुपमा आव्हान गरेका हौ । ”

प्रवक्ता श्रेष्ठले आमहड्तालबाट सर्वसाधरणमा पर्ने समस्याप्रति पार्टीको तर्फबाट क्षमायाचना पनि गर्नुभयो । उहाँले आमहड्ताल र आगामी आन्दोलन पनि शान्तिपूर्ण हुने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो “हामीले शान्तिपूर्ण आन्दोलन नै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छौ । अबको आन्दोलन पनि शान्तिपूर्ण नै हुन्छ । तर अहिले हामीले आमहड्ताल कार्यक्रम बाध्यात्मक रुपमा आव्हान गरेका हौ । ”

पत्रकार सम्मेलनमा विप्लव समूहसँग सरकारले अघि बढाएको वार्ताका सम्बन्धमा राखिएको जिज्ञासामा उहाँले पार्टीले त्यसलाई इमान्दार पहलकदमीको रुपमा नलिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो “हामी विप्लवसँग वार्ता गर्ने, शान्तिपूर्ण रुपमा राजनीतिक समस्या समाधान गर्ने प्रक्रिया कहीँ कतैबाट हुन्छ भने त्यसलाई सधै स्वागत गछौ । सकारात्मक रुपमा लिन्छौ । तर यो नाटक हो । यो कुनै सुनियोजितपूर्वक सदासयतापूर्वक गरेको इमान्दार पहलकदमी होइन भन्ने हाम्रो ठहर छ । ”

कार्यक्रममा देशव्यापी आमहड्ताल बारे नेतृ पम्पा भुसालले जानकारी गराउनुभएको थियो । उहाँले आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दुध, औषधिलगायत अत्यावश्यक सेवाहरु सुचारु हुने स्पष्ट पार्नुभयो । यसअघि २२ गतेका लागि तय भएको यवा ¥याली कार्यक्रम माघ २८ गतेपछि गर्ने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएपछि प्रचण्ड–नेपाल समूहले त्यसको विरोधमा आमहड्ताल आव्हान गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *