नेकपा प्रचण्ड–नेपाल समूहले बोलायो भोलिका लागि केन्द्रीय कमिटीको बैठक

१८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले भोलिका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
सोमबार ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकको एजेण्डा भने स्पष्ट भएको छैन ।
प्रतिनिधिसभाको विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड–नेपाल पक्षले २१ गतेसम्म तोकेको माइतीघरको धर्ना पनि आजदेखि अन्त्य गरेको छ । माघ २८ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने उसको तयारी छ ।
बुटवल, विराटनगर र धनगढीमा प्रदेश स्तरीय विरोधसभा गरिसकेको छ । यो समूहको केन्द्रीय कमिटी बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।
त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो । स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया