Main News

ओली र प्रचण्ड-नेपाल समूहको चेपुवामा निर्वाचन आयोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १६ गते २०:३६

१६ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले बोलाएको आजको छलफलमा प्रचण्ड नेपाल समूह सहभागी भएन । छलफलका विषयमाथि नै प्रचण्ड उठाउँदै प्रचण्ड नेपाल समूहले दुई दिनपछि मात्रै उपयुक्त समय मिलाएर छलफल गर्न र दल दर्ता प्रक्रिया अघि नबढाउन दबाब दिएको छ । तर ओली समूहले भने छलफलमा भाग लिएर दल दर्ता प्रक्रिया अघि बढाउन दबाब बनाएको छ । यसले आयोग दुई समूहको चेपुवामा परेको छ ।

दल दर्ता प्रक्रिया शुरु गर्नुअघि निर्वाचन आयोगले नेकपाका दुवै समूहसँग छलफल गर्न चाहेको थियो । त्यसै अनुसार आयोगले शुक्रबार बिहान ११ बजे छलफलका लागि बोलाएको थियो । तर आयोगले चाहे जस्तो हुन सकेन । प्रचण्ड–नेपाल समूहले आयोगसँग दल दर्ताको विषयमा छलफल गर्न नै चाहेन र उसका नेताहरु लिखित पत्र बुझाएर फर्किए । दुवै अध्यक्ष बाहिर रहेको भन्दै प्रचण्ड–नेपाल समूहले १८ गतेपछि मात्रै छलफल गरौं भनेको छ । यो त समय लिने कुरा मात्रै हो । खासमा उसले यो छलफलमाथि नै प्रश्न उठाएको छ ।

त्यति मात्रै होइन, निर्वाचन आयोग सत्ताको दबाबमा परेको र गलत दिशातिर गैरहेको समेत प्रचण्ड–नेपाल समूहको गम्भीर आशंका छ ।

प्रचण्ड–नेपाल समूह छलफलमा नबस्दा ओली समूहले भने आयोगका पदाधिकारीसँग छलफल गरी दल दर्ता प्रक्रिया अघि बढाउन दबाब दिएको छ । किनकी सबै कुराको छिनफानो चुनाबबाटै हुने उसको दावी छ । र, प्रचण्ड–नेपाल समूहले आयोगमाथि गम्भीर आशंका गर्दा यो समूह आयोगका कामकारवाहीबाट खुशी छ ।

दुवै झगडिया एकै ठाउँ बसेर छलफल नगरे पनि दुवैले आ–आफ्नो योजना अनुसार आयोगमाथि दबाब बनाएका छन् । र, आयोग फेरि पनि दुवै पक्षलाई एकै ठाउँ राखेर छलफल गर्ने तयारीमा छ ।

नेकपाका दुई समूहको चेपुवामा आयोगले आफ्नो स्वायत्तता अनुसार काम गर्छ कि दबाबमा पर्छ, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *