Main News

पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन : प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७७ माघ ९ गते १८:०७
पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन : प्रधानमन्त्री ओली

९ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलि रहित हुने सम्पन्न हुने बताउनुभएको छ । उहाँले भन्नुभयो ,“मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ । ”

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश ंदुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिनुभयो । “यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु ।” उहाँले भन्नुभयो ।

उहाँले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गर्नुभयो । अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । यसका लागि अन्य सुक्षाकर्मीसँग समन्वय गर्न पनि उहाँले सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताउनुभयो । उहाँले कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गर्नुभयो ।

१४ गतेबाट खोप लगाउन शुरु
प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिनुभएको छ । यसका लागि समूह तयार पारिसकेको उहाँले बताउनुभयो ।

मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गर्नुभएको छ ।

शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र सङ्कटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो ।

सामारोहमा गृहमन्त्री रामबहादुर थापाले परिवर्तित वर्तमान अवस्थामा अहम भूमिका निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले आन्तरिक विद्रोह र आपराधिक गतविधि नियन्त्रणका लागि तयार रहनसमेत सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

उहाँले सशस्त्र प्रहरीको १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायी बनाउने र सीमा निगरानी चौकीलाई ५०० पु¥याउने लक्ष्य गृहमन्त्रालयको रहेको जानकारी दिनुभयो । पर्वतीय उद्धार तालिम शिक्षालय बनाउने तयारी भइरहेकोसमेत गृहमन्त्री थापाले जानकारी दिनुभयो । उहाँले आवश्यकताअनुसार सशस्त्र प्रहरीमा जनशक्ति थप्दै लगिने पनि बताउनुभएको छ ।

सशत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सङ्गठनले प्राप्त गरेको जिम्मेवारीलाई निर्भिक भएर पुरा गरेको जानकारी गराउँदै यस वर्ष सीमा निगरानी चौकीको सङ्ख्या बढाएर २२० पु¥याउने लक्ष्य राखिएको बताउनुभयो । उहाँले यस वर्ष रु एक अर्ब ४१ करोड अबैध सामान बरामद गरी भन्सार कार्यालया बुझाइएको समेत जानकारी दिनुभयो ।

उक्त समारोहमा बङ्गलादेशको ढाका म्याराथनमा स्वर्ण पदक ल्याउने सशस्त्र प्रहरीकी खेलाडी पुष्पा भण्डारीलाई पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट हुने सशस्त्र प्रहरीको नं १ बाहिनी मुख्यालय सुनसरीलाई पुरस्कृत गरिएको थियो भने लाईफ टाइम एचिभमेन्ट अवार्डबाट पूर्वसशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक धनबहादुर थापा क्षेत्रीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *