Main News

चिसोले गरिबको बिचल्ली : परालकै ओछ्यान परालकै ओढ्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ३ गते २०:४८
चिसोले गरिबको बिचल्ली : परालकै ओछ्यान परालकै ओढ्ने (भिडियोसहित)

३ माघ २०७७ पर्सा । गत हप्तादेखि बढेको चिसोका कारण तराई मधेसमा विपन्न समुदाय बिचल्लीमा परेका छन् । उनीहरुलाई न्यानो कपडाको अभाव छ । पर्साको वीरगञ्ज महानगरमै गरिब नागरिकको जीवन कष्टकर भइरहेको छ । महानगरको एउटा गाउँ बेल्वाका बासिन्दाले यो चिसोमा कसरी जीवन धानिरहेका छन् ?

पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ को बेल्वा गाउँ । यो गाउँमा दलित समुदायका ४२ परिवार बसोबास गर्छन् । माझी मुसहर समुदायका उनीहरु अधिकांशको आर्थिक अवस्था कमजोर छ । ज्याला मजदुरी र जंगलबाट ल्याएको दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका उनीहरुसँग बस्ने ठाउँ पनि गतिलो छैन । पराल र चित्राले छाएका झुपडीमा बस्दै आएका उनीहरुलाई जाडोको समयमा निक्कै समस्या हुने गरेको छ ।

छानाको खरले भर दिन छोडेको छ । घामपानी छेक्न त्रिपालको सहारा लिनु परेको छ । त्रिपालले खर जसरी चिसो छेक्न सकेको छैन । ३ धुर जमिनमा बनेको फुसको घरमा दुई परिवारका ८ जनाको बसोबास छ । तर घरमा गतिलो ओढ्ने ओछ्याउने छैन ।

चिसो बढेसँगै सरकारबाट केही राहत पाइएला कि भन्ने यी परिवारको अपेक्षा छ । कम्मल दिने भन्दै आएका मान्छेले नाम टिपेर गएका थिए । तर उनीहरु फर्केर आएनन् । त्यसैले चिसोमा पराल ओढेर सुत्नुको विकल्प छैन ।

शीतलहर तथा चिसोजन्य विपदबाट प्रभावित हुन सक्ने गरिब र विपन्न परिवारलाई सहयोग गर्न जिल्ला विपद व्यवस्थापन समितिसँग ४४ लाख बजेट छ । त्यो रकमबाट न्यानो कपडा किनेर गरिबलाई वितरण गर्ने योजना पनि समितिले बनाएको थियो । तर न्यानो कपडा उपलब्ध गराउनका लागि बोलपत्र पेश गरेर छनोट भएको अञ्जली ट्रेड सप्लायर्सले सामान दिन सकेन । त्यसैले गरिब र दुखीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम नै रोकियो ।

न्यानो कपडा वितरण गर्न कानूनले रोकेको दाबी गर्ने प्रशासन अहिले दाउरा बाँड्न लागेको बताउँछ ।

गरिबलाई न्यानो कपडा बाँड्न रोक्ने कानून कसका लागि काम लाग्ने हो भन्ने प्रश्न उठेको छ । बेल्वा गाउँको यो अवस्था नेपालकै प्रतिनिधि मात्र हो । देशका हजारौं गाउँमा अहिले विपन्न नागरिकले यसैगरी जीवनयापन गरिरहेका छन् । तर सत्ताको खेलमा रामाइरहेको राजनीतिक नेतृत्वलाई भने यस्ता नागरिकको कुनै चिन्ता छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *