नेकपा प्रचण्ड–नेपाल पक्षले बोलायो बागमती प्रदेशसभा संसदीय दलको बैठक

१५ पुस २०७७ काठमाडौं । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको नेकपा प्रचण्ड–नेपाल पक्षले वागमती प्रदेशसभा संसदीय दलको बैठक काठमाडौंमा बोलाएको छ ।
मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्तावित नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले दलको बैठक बस्न लागेको जानकारी दिनुभयो । सबै प्रदेशसभा सदस्य काठमाडौंमै रहेकाले केन्द्रीय कार्यालय पेरिसडाँडामै संसदीय दलको बैठक बोलाइएको छ ।
आफ्नो पक्षमा नेकपाका बहुमत सांसद रहेकाले आफूहरु नै आधिकारिक भएको शाक्यको भनाइ छ । शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजित हुनुभएको थियो ।
तर माओवादीसँग एकीकरणपछि दलमा प्रचण्ड–नेपाल पक्षको बहुमत रहेको दावी गरिएको छ । दलको बैठकले शाक्यलाई नेता चयन गर्ने सम्भावना छ ।
अविश्वास प्रस्ताव दर्ता गर्दा प्रचण्ड–नेपाल समूहले शाक्यलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । मुख्यमन्त्री पौडेलले दलको विधान विपरीत अनुशासनहीन काम गरेको भन्दै उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई मंगलबार पदमुक्त गर्नुभएको छ ।
प्रतिक्रिया