Political Hightlights

प्रदेश १ का मुख्यमन्त्री राईको पद धरापमा, आज अविश्वास प्रस्ताव दर्ता हुने

हिमालय टिभी
२०७७ पुष १२ गते ७:३०
प्रदेश १ का मुख्यमन्त्री राईको पद धरापमा, आज अविश्वास प्रस्ताव दर्ता हुने

१२ पुस २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश मन्त्रिपरिषद्का एक सदस्यलाई पदमुक्त गरेपछि मुख्यमन्त्रीको पद धरापमा परेको छ।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेलगत्तै उहाँविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी नेकपा प्रचण्ड–नेपाल–समूहले गरेको हो।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–नेपाल समूहले आज प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराउने भएको मुख्यमन्त्री राईद्वारा पदमुक्त गरिएका आङम्बोले बताउनसभयो ।

आज प्रचण्ड–नेपाल समूहका अन्य मन्त्रीले पनि राजीनामा दिने उहाँको भनाइ छ । आङम्बोका अनुसार प्रदेश सभामा बहुसंख्यक सांसदले मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गर्नेछन् ।

नेकपा ओली समूह प्रदेश १ मा अल्पमतमा हुनु र नेकपाकै बहुमत सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने भएपछि राईको सरकार धरापमा परेको हो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै स्पष्ट दुई खेमामा विभाजित नेकपालाई प्रदेश १ मा सरकार बनाउन नेपाली कांग्रेसको समर्थन अनिवार्यजस्तै देखिएको छ।

ओली समूहका प्रदेश १ का मुख्यमन्त्री राई संसदीय दलमा अल्पमतमा हुनुहुन्छ । उहाँले नेकपाकै भीम आचार्यलाई २ मतले हराउँदै मुख्यमन्त्री बन्नु भएको थियो ।

प्रदेशसभामा पूर्वएमालेतर्फका ५१ जना र पूर्वमाओवादीतर्फका १६ जना सांसद छन्। प्रदेशसभा ९३ जनाको छ। सभामुख र उपसभामुख पनि नेकपाकै भएकाले ९१ जना सांसदको बहुमत सिद्ध गर्न ४७ जना सांसद आवश्यक पर्छ।

नेकपा विभाजनको असर एक पछि अर्को प्रदेशमा देखिन थालेको छ । यसअघि बागमती प्रदेशका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिँदै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्