Main News

पाँचबुँदे सहमतिसँगै वीर अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता

हिमालय टिभी
२०७७ मंसिर २० गते १२:५३
पाँचबुँदे सहमतिसँगै वीर अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता

२० मंसिर, २०७७ काठमाडौं। पाँच बुँदे सहमति भएपछि वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार भएको वार्तामा सहमति जुटेको हो । कोभिड भत्ता नपाएको लगाएतका विषयहरु उठाउँदै वीरका कर्मचारीहरु ४६ दिनदेखि आन्दोलनमा थिए ।

कोभिड भत्ता वितरणमा देखिएका त्रुटि सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधिसमेतको समिति बनाई समानुपातिक आधारमा वितरणको व्यवस्था गर्ने सहमति वार्तामा भएको छ ।

यसैगरी कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी निर्णय गर्ने, कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६–७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने सहमति भएको छ ।

यस्तै सेवा विस्तार भत्ता सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति पनि भएको छ ।

अस्पतालका पूर्ववत् सेवाहरुसहित थप सेवाहरु अझ प्रभावकारी रुपले सन्चालन गर्ने, प्रतिष्ठान सेवातर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि स्वास्थ्य मन्त्रालय समक्ष पत्राचार गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *