आफ्नै राजनीतिक प्रतिवेदनमाथि प्रचण्डको प्रष्टिकरण

९ मंसिर, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय बैठकमा कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित नरहेको प्रष्टिकरण दिनुभएको छ ।
सचिवालयले प्रेस नोट जारी गर्दै प्रस्तावमा भएको कुरा न्यायपालिकाको गरिमा र प्रधानन्यायाधीशसँग सम्बन्धित नभएको जनाएको छ।
कात्तिक २८ गते प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेर पेश गरेको प्रस्तावमा ‘स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागू गर्ने, द्वन्द्वकालीन मुद्दालाई निहित उद्देश्यका लागि दुरूपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गर्नुभएको कुरा बाहिर आयो’ भनेर लेख्नुभएको छ ।
र, यही विषयलाई लिएर टीका टिप्पणी हुन थालेपछि प्रचण्डले प्रष्टिकरण दिनुभएको हो ।
प्रचण्डको प्रस्तावमा भएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री ओलीले १० दिनको समय माग्नुभएको छ ।
र, १३ गते दश दिन पुग्नेछ । प्रस्ताव फिर्ता लिन ओलीले आग्रह गरेपनि प्रचण्डले मान्नुभएको छैन ।
प्रतिक्रिया