Main News

कुकुर तिहारमा मात्र हैन यि हुन् वर्षैभर सडकका कुकुरको सेवा गर्नेहरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १८:१३
कुकुर तिहारमा मात्र हैन यि हुन् वर्षैभर सडकका कुकुरको सेवा गर्नेहरु (भिडियोसहित)

२९ कात्तिक, २०७७ काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीले घर आँगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाएका छन् । तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले कुकुर तिहारमा मात्र हैन अन्य दिनमा पनि सडकका कुकुरलाई खाना खुवाउँदै आएको छ ।

कुकुर तिहारको दिनमा घरमा माया गरेर पालेको वा छिमेकी कुकुरलाई खाना दिनु पूजा गर्नु सामान्य हो । तर सडकमा भेटिएका छाडा कुकुरलाई खाना खुवाउन, त्यो पनि एक दिन हैन, दुई दिन हैन ।

एक ठाउँका हैन, दुई ठाउँका हैन । काठमाडौंका अधिकांश ठाउँका छाडा कुकुरलाई खाना खुवाउन र त्यो पनि निरन्तर आठ महिना। यो असामान्य हो । यस्तै असामान्य काम गर्दै आएको छ सौरभ रिमाललगायतको समूह ।

कोरोना संक्रमणका कारण चैतमा जब लकडाउन भयो, त्यसपछि सडकका कुकुरले खान पाएनन् । सडकका कुकुर खान नपाएर मर्ने अवस्थामा पुगे । त्यो देखेर सौरभलाई दया लाग्यो र आफ्नै खर्चमा सडकका कुकुरलाई खाना खुवाउन थाल्नुभयो ।

पछि यो अभियानलाई अरु साथीभाइ र मनकारीले पनि सहयोग गरे । सबैको सहयोगमा अभियान अहिले पनि चलिरहेको छ । रातोपुलस्थित डल्ले रेस्टुरेन्टले कुकुरका लागि खाना उपलब्ध गराउँदै आएको छ ।

र त्यो खाना रिमालले काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन गर्ने क्षेत्र, गोंगबस्थित नयाँ बसपार्क, भृकुटी मण्डप, स्वयम्भू, त्रिभुवन विश्वविद्यालय क्षेत्र र ललितपुरको बटुक भैरव आसपासका क्षेत्रमा लगेर कुकुरलाई खुवाउँदै आउनु भएको छ ।

त्यसैले तिहारको एक दिन मात्रै होइन, अरु बेला पनि कुकुरलाई खाना दिन रिमालको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *