Main News

आज विश्व मधुमेह दिवस नेपालमा पनि मनाइँदै

हिमालय टिभी
२०७७ कार्तिक २९ गते ७:३२
आज विश्व मधुमेह दिवस नेपालमा पनि मनाइँदै

२९ कात्तिक, २०७७ काठमाडौं । आज विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९ सय ९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।

अहिले विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन् । नेपालमा भने करीब १० लाख मानिस मधुमेह रोगबाट पीडित रहेको अनुमान गरिएको छ ।

दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउँदा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । खानामा कार्बोहाइड्रेटको मात्रा बढी हुनु, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना अधिक हुने चिकित्सकहरुले जनाएका छन् ।

मधुमेह सरुवा रोग नभए पनि यसलाई पारिवारिक रोगको रुपमा लिइन्छ । परिवारका एकजना सदस्यलाई मात्र मधुमेह भएमा सम्पूर्ण परिवारलाई नै असर गर्छ । परिवारका सदस्यको जीवनशैली, खानपान, आपसको सम्बन्ध, आर्थिक तथा मानसिक पक्षसम्म प्रत्यक्ष असर देखिन्छ ।

मधुमेहका बिरामीले हेलचेक्याईं गर्दा मिर्गौला खराब हुने, पक्षाघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने भएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् ।

मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *