प्रचण्ड–नेपाल समूहले बोलाएको नेकपा सचिवालय बैठक आज

२७ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेपाल माधवकुमार नेपाल समूहले आजका लागि सचिवालय बैठक बोलाएको छ ।
तर बैठकमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष सहभागि हुने नहुने टुंगो लागेको छैन । अध्यक्ष केपी ओली बैठकमा सहभागी नभए पनि प्रचण्ड–नेपाल समूह आज डाकिएको बैठकलाई औपचारिक बनाउने गृहकार्यसहित ओलीमाथि दबाब बनाउने काममा जुटेका छन् ।
प्रधानमन्त्री ओली सहमतिका लागि तयार नभएको भन्दै सचिवालय बैठकबाट स्थायी कमिटी र त्यसपछि क्रमशः केन्द्रीय कमिटी बैठक बोलाएर अघि बढ्ने प्रचण्ड नेपाल समूहको रणनीति छ ।
तर, प्रधानमन्त्री ओलीले बहुमतको औपचारिक बैठक बसे कडा ‘स्टेप’ चाल्न सक्ने चेतावनी दिँदै आएकाले बैठक राखे पनि कुन–कुन एजेन्डामा कस्तो निर्णय गर्ने भन्ने विषयमा अन्योल देखिएको छ ।
प्रधानमन्त्री ओलीले एक–दुई दिनकै बीचमा महासचिव विष्णु पौडेललाई औपचारिक बैठक बोलाउन निर्देशन दिइसकेकाले पनि बेग्लै बैठकबाट अगाडि बढ्ने या सहमतिकै बैठकमा रणनीतिसहित प्रस्तुत हुने उनीहरूबीच अन्योल देखिएको हो ।
९ सदस्सीय सचिवालयमा ५ जनासहित प्रचण्ड समूह बहुमतमा छ । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, कोभिड– १९ नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदम, कर्णाली प्रदेशको विवाद समाधान, भारतीय गुप्तचर प्रमुख सामन्त गोयलको नेपाल भ्रमण लगायतका विषयमा पत्रमा छलफलको माग गरिएको थियो ।
पार्टी सचिवालय बैठक बोलाउने विषयमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच पेचिलो धुव्रीकरण देखिएको छ ।
बैठक बस्ने–नबस्ने विषय अब ओली र प्रचण्ड–नेपाल समूहका लागि प्रतिष्ठाको विषय समेत बनेको छ ।
प्रतिक्रिया