Main News

बैंक खाता नहुने किसानले उखुको पैसा नपाएको उद्योगमन्त्रीको दावी

हिमालय टिभी
२०७७ कार्तिक २३ गते १८:००
बैंक खाता नहुने किसानले उखुको पैसा नपाएको उद्योगमन्त्रीको दावी

२३ कात्तिक, २०७७ काठमाडौं । उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेका छन् ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौं देखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश कुमार मिश्रले मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग गरेको सम्झौता अझै पनि कार्यान्वयन नभएको भन्दै छिटोभन्दा छिटो भुक्तानी पाउने व्यवस्था मिलाईदिन आग्रह गर्नुभयो ।

मन्त्रालयको समन्वयमा उखु किसान र उद्योगीबीच जायजेथा विक्री गरेर भए पनि २०७६ माघ ७ गतेभित्र किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएको थियो । तर सरकारले अहिलेसम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरुले गरेका छन् । संरक्षक मिश्रले सरकारले नै सम्झौता अनुसार काम नगरी किसानहरुलाई नियोजित पीडा दिइरहेको बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने आफुले किसानप्रतिको कर्तव्य नभुलेको बताउनुभयो । अहिले पनि चिनी उद्योग संघलाई उपस्थित गराई निकास दिन छलफल चलाउने बताउनुभयो ।

किसानले पनि भुक्तानी पाउने र उद्योग पनि बच्ने गरी समस्याको समाधान हुने पनि उहाँले बताउनुभयो । किसानले आफ्नो बक्यौता पाउन पर्खिनुपर्छ भन्ने नभई उद्योगबाट असुुलउपर गराउन प्रक्रियामा जाँदा ढिलो भइरहेको पनि बताउनुभयो ।

यद्यपि कतिपय चिनी मिलले किसानको बैंक खाता नहुँदा भुक्तानी दिन रोकिएको बताएको पनि उहाँले बताउनुभयो ।

लुम्बिनी सुगर मिल्स सुनवल र श्रीराम सुगर मिल्सबाहेकका चिनी मिलले दिनुपर्ने बक्यौता रकमको समस्या लगभग समाधान हुने चरणमा रहेको पनि मन्त्री भट्टले बताउनुभयो । लुम्बिनी चिनी मिल सुनवलका मालिकको मृत्यु भइसकेको र परिवार सम्पर्कमा नरहेकाले गृह मन्त्रालयलाई उपस्थित गराउन पत्राचार गरिएको बताउनुभयो ।

त्यस्तै श्रीराम सुगर मिल्सले खारेजीमा गई त्यसबाट असुलउपर हुने रकमबाट किसानलाई भुक्तानी गर्ने मौखिक जानकारी गराएको बताउनुभयो । समग्रमा सबै चिनी मिललाई बचाउने र किसानले पनि समयमै भुक्तानी पाउने गरी कसरी समस्याको समाधान गर्न सकिन्छ भन्ने तर्फ मन्त्रालयले काम गरिरहेको पनि मन्त्री भट्टले स्पष्ट पार्नुभएको छ ।

यता किसानले भने मधेशको श्रद्धाको पर्व ‘छठ’भन्दा अघि किसानहरूको सम्पूर्ण रकम भुक्तानी नभए छठ पर्वपछि मंसिर २७ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई सिंहदरबार घेर्ने चेतावनी उखु किसानले दिएका छन् ।

मन्त्री भट्टराई बुझाइएको स्मरणपत्रमा भनिएको छ,‘नेपाल सरकारले तुरुन्त निर्धारित अवधिमा रकमको भुक्तानी गरियोस् । होइन भने कोरोनाले मर्नु र भोक, ऋणले मर्नु परिणाम एउटै आउने भएकाले हामी निर्णायक आन्दोलन गर्न बाध्य हुने जानकारी गराउन चाहन्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *