Political Hightlights

कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्य लिखितपत्रसहित बालुवाटारमा

हिमालय टिभी
२०७७ कार्तिक २२ गते १२:५०
कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्य लिखितपत्रसहित बालुवाटारमा

२२ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आह्वानको माग गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच जना नेता लिखित पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

पार्टीभित्र देखिएको पछिल्लो अन्तरविरोध समाधानका लागि सचिवालय बैठक बस्नुपर्ने भन्दै लिखित मागसहित प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुग्नुभएको हो ।

साढे ११ बजेदेखि प्रधानमन्त्री ओलीसँगको छलफल जारी छ । जारी छलफलमा पार्टी एकतालाई कसरी जोगाउने र विवाद समाधानका उपायमाथि छलफल भइरहेको छ । बालुवाटार जानुअघि धुम्बाराहीमा प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठले ३ घन्टा छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो असहमतिबिना औपचारिक पार्टी बैठक राखे पार्टी फुट्ने चेतावनी दिएपछि यो समूहले हिजो धुम्बाराहीमा अनौपचारिक छलफल गरेको थियो ।

प्रधानमन्त्री ओलीले छलफलअघि प्रचण्ड–नेपाल पक्षले चाल्ने सम्भावित कदम र विवाद समाधानका बारेमा आफ्नो समूहमा रहेका सचिवालयका सदस्यसहित आफू निकट नेताहरुसँग छलफल गर्नुभएको थियो । कर्णाली प्रदेश र मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर बल्झिएको नेकपाको विवाद पछिल्लो समय फुटकै संघारमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने चेतावनी दिएपछि एक कदम पछि हटेको प्रचण्ड(नेपाल समुहले गत भदौमा सम्पन्न स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनको लागि जोड दिँदै आएको छ ।

पार्टी विभाजनको आरोप खेप्न नचाहेको ओली पक्ष पनि स्थायी कमिटीको बैठकका निर्णय कार्यान्वयनका लागि केही लचक भएको छ । आजको छलफलबाट पार्टीको विवाद समाधानका लागि ठोस रुपरेखा आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्