सत्तारुढ नेकपा अध्यक्ष प्रचण्ड र ओलीबीच आन्तरिक विवादका विषयमा छलफलको तयारी
१९ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफलको तयारी छ ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष र अर्का अध्यक्ष प्रचण्ड बीच तीन दिनदेखि भेटघाट हुन सकेको छैन। शनिबार ११ दिनपछि भएको भेटमा दुई अध्यक्षबीच विवाद बढेपछि भेट हुन सकेको थिएन ।
दुई अध्यक्षबीच हिजो भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले पहिला दुई अध्यक्ष सहमति गर्ने अनि मात्र पार्टी कमिटीको बैठक बोलाउन प्रस्ताव गरे पनि प्रचण्डले अस्वीकार गरेको उहाँ निकट एक नेताले बताएका छन्।
आइतबार भएको टेलिफोन कुराकानीसमेत सकारात्मक हुन सकेको थिएन। प्रधानमन्त्री ओलीले पार्टी अलग बनाएर जान भनेको भन्दै प्रचण्डले आइतबार आफूसहित ६ जना सचिवालय सदस्यको भेला नै गर्नु भएको थियो ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो । छलफलमा सचिवालय बैठकका लागि पहल गर्ने सहमति पनि भएको थियो।
सोमबार र मंगलबार दुवै पक्षले आआफ्ना तरिकाले छलफलहरू गरेका छन्। आज दुई अध्यक्षबीच छलफल हुने भनिए पनि समय तय भइसकेको छैन ।
पछिल्लो समय कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, मन्त्री परिषद् हेरफेर, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्रीले गरेको गोप्य भेट लगायत कारण नेकपाका दुई अध्यक्षबीच दूरी बढेको छ ।
प्रतिक्रिया