कोरोना संक्रमणका कारण नवलपरासीमा दुई, सुनसरी र बाँकेमा थप एकएक जनाको मृत्यु
१५ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट नवलपरासीमा दुई तथा सुनसरी र बाँकेमा थप एकएक जनाको मृत्यु भएको छ ।
होम आइसोलसनमा बसेका पूर्वी नवलपरासीका दुई जना कोरोना संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले बताएको छ । मुटुको समस्या रहेका उनलाई कात्तिक ६ गते संक्रमण पुष्टि भएपश्चात अर्को दिन अस्पताल भर्ना गरिएको थियो ।
उता बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा आज बिहान थप एक जना संक्रमितको मृत्यु भएको छ । मृतक दाङको घोराही उपमहानगरपालिका–४ निवासी ७० वर्षीय पुरुषको रहेको अस्पतालले जनाएको छ ।
यही कात्तिक ११ गते अस्पताल भर्ना भएपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनलाई अर्को दिन संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया