कोरोना हटस्पट काठमाडौं उपत्यकाः जहाँ छन् ४५ प्रतिशन संक्रमित (भिडियोसहित)
![कोरोना हटस्पट काठमाडौं उपत्यकाः जहाँ छन् ४५ प्रतिशन संक्रमित (भिडियोसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/10/kathmandu.jpg)
१३ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमण फैलिँदै गएसँगै उपत्यका नै कोरोना संक्रमणको हटस्पट बनेको छ । देशभर १ लाख ६४ हजार जनामा कोरोना संक्रमण देखिएकोमा काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ७३ हजार संक्रमित छन् । जुन ४५ प्रतिशत हो ।
साउन १ गते देशभर १७ हजार ३ सय ४४ जना कोरोना संक्रमित थिए । जसमध्ये काठमाडौं उपत्यकामा ४ सय पनि पुगेका थिएनन् । साउन १ गतेसम्ममा काठमाडौं जिल्लामा २ सय ४५ ललितपुरमा ७५ र भक्तपुरमा ४७ जना मात्र संक्रमित थिए ।
भदौ १ गते देशभर २७ हजार २ सय ४१ जना संक्रमित थिए । जसमध्ये काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै २१ सय भन्दा धेरै संक्रमित भए । साउनमा देशभर १० हजार संक्रमित थपिए । जसमध्ये उपत्यकाका १७ सय थिए ।
यो तथ्यांकले काठमाडौ उपत्यकामा साउनदेखि कोरोना संक्रमण बढ्न थालेको देखाउँछ । उपत्यकामा साउनको मध्यपछि दैनिक १ सय जना भन्दा धेरैमा संक्रमण देखिन थालेको हो र यो क्रम बढ्दै गएर कात्तिक ५ गते एकै दिन उपत्यकामा ३ हजार १ सय ७ जनामा संक्रमण देखियो । जुन दिन देशभर ५७ सय ४३ जना संक्रमित भएकामा ५४ प्रतिशत भन्दा धेरै उपत्यकाका ३ जिल्लामा भेटिएका थिए ।
आजसम्ममा देशभर १ लाख ६४ हजार ७ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकाका ७३ हजार १५ जना छन् । जुन ४४ दशमलव ३२ प्रतिशत हो ।
आजसम्म काठमाडौंमा ५९ हजार २ सय ३४ ललितपुरमा ८ हजार ३ सय ५० र भक्तपुरमा ५ हजार ५ सय १९ र कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौं महानगरपालिकामा साढे ९ हजार, ललितपुर महानगरपालिकामा २५ सय र भक्तपुर नगरपालिकामा १३ सय सक्रिय संक्रमित छन् ।
काठमाडौं उपत्यकामा संक्रमण र सक्रिय संक्रमण मात्र हैन ज्यान गुमाउनेको संख्या पनि बढी छ । देशभर ९ सय ४ जनाको मृत्यु भएकोमा उपत्यकाका मात्रै ३ सय २८ जना छन् । काठमाडौंमा दुई सय नौ, भक्तपुरमा ६१ र ललितपुरमा ५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
४४ दशमलव ३२ प्रतिशत कोरोना संक्रमित भेटिएको काठमाडौंमा संक्रमण अझै बढ्ने निश्चित छ । किनकी दशैंको किनमेलका लागि मात्र होइन टिकाटालाका लागि पनि काठमाडौंमा चहल पहल भएको छ । दशैं मानेर फर्कने पनि बढ्दै छन् । त्यसैले कोरोनाको हटस्पट काठमाडौंमा कोरोना संक्रमणबाट जोगिन अझ धेरै सावधानी अपनाउनु जरुरी छ ।
प्रतिक्रिया