Main News

चीन लक्षित अमेरिका–भारत बीइसीए सम्झौताले नेपाललाई कस्तो असर पार्ला ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १९:५५
चीन लक्षित अमेरिका–भारत बीइसीए सम्झौताले नेपाललाई कस्तो असर पार्ला ? (भिडियोसहित)

१२ कात्तिक, २०७७ काठमाडौं । चीनसँगको विवाद कायम रहेका बेला अमेरिका र भारतबीच हिजो रक्षासम्बन्धी सूचना आदानप्रदान गर्ने सम्झौता भयो । बेसिक एक्‍सचेन्ज एन्ड कोअपरेशन सम्झौता बेकाले तरंग सिर्जना गरेको छ । यसबाट आक्रामक बनेको चीनले कडा प्रतिक्रिया दिएको छ । र, यो सम्झौताले नेपाललाई पनि गम्भीर प्रभाव पार्ने आँकलन गर्न थालिएको छ । यो सम्झौतासँगै नेपाल, अमेरिका–भारत गठबन्धन र चीनको तानातानमा पर्न सक्ने भन्दै परराष्टविद्हरुले गम्भीर भएर सोच्न र कदम चाल्न सुझाव दिएका छन् ।

भारत र अमेरिकाबीच नजिकको सहकार्य अहिले मात्र भएको होइन, यसअघि पनि दुई देशबीचच सहकार्य भएको थियो । तर, यो पटकको सहकार्य र सम्झौता पहिलेको भन्दा फरक छ । अर्थात यो सम्झौता मार्फत अमेरिका र भारतले चीन विरोधी गठबन्धन बनाएका छन् । र, यसको उद्देश्य चीनको प्रभाव कम गर्ने र उसलाई रोक्ने हो भन्ने परराष्टविद् हिरण्यलाल श्रेष्ठको बुझाई छ ।

श्रेष्ठ मात्रै होइन, परराष्टविद् डाक्टर दिनेश भट्टराईको बुझाई पनि उस्तै छ । अमेरिका र भारतले गरेको पछिल्लो सम्झौता चीनविरोधी सैन्य सम्झौता हो । र, उसको उद्देश्य चीनको प्रभावलाई कम गर्ने नै हो ।

सम्झौताले दुई मुलुकका बीचमा रणनीतिक सूचना आदान–प्रदानसमेत सहज बनाउनेछ । साथै, भारतले केही सामरिक महत्वका क्षेत्रको नजिकबाट अनुगमनसमेत गर्न पाउनेछ । साथै यी डाटाहरुमा पहुँच भएपछि मिसाइल, ड्रोन र अन्य आक्रमणमा सहज हुनेछ ।

दक्षिण एसियाली मुलुकमा चीनको प्रभाव कम गर्ने भारत–अमेरिकाको साझा नीति भएकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने अनुमान छ । चीन विरोधी यो गठबन्धनबाट झस्केका परराष्टविदहरुलाई अब नेपाल शक्तिशाली देशको तानातानमा पर्ने चिन्ता लाग्न थालेको छ । उनीहरुको बुझाईमा नेपाललाई प्रयोग गर्ने प्रयास हुनेछ ।

सरकार यो विषयमा कति जानकार छ ? अमेरिका भारत सम्झौतापछि विकसित घट्नाक्रमलाई उसले कसरी हेरिरहेको छ ? थाहा छैन । तर परराष्ट मामिलाका जानकाहरु भने चिन्तित छन् । त्यसैले नेपाललाई समस्यामा पर्न नदिने र जोगिने उपाय पनि उनीहरुले अघि सारेका छन् । त्यसका लागि सरकारले दृढतापूर्वक असंलग्न परराष्ट नीतिका पक्षमा उभिने र आफ्नो भूमि कसैकाविरुद्ध प्रयोग नदिने अडानका साथ काम गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

भूराजनीतिक अवस्थितिका कारण विश्वका शक्ति राष्टहरुको चासो र ध्यान नेपालमा छ । त्यो उनीहरुको स्वार्थको कुरा भयो, अब नेपालले आफ्नो स्वार्थ रक्षाका लागि त्यसैगरी उभिनुपर्छ, जसले नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षा होस् । अमेरिका र भारतले गरेको पछिल्लो सम्झौताबाट सिर्जना हुन सक्ने संभावित समस्याका बारेमा सरकारले विज्ञको चासो, चिन्ता र सुझावलाई मनन गरेर कदम चालोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *