नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालबीच कर्णाली प्रदेश पार्टी विवादबारे छलफल

५ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशको विवादका विषयमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रचण्ड निवास खुमालटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र केही सांसदसहित दुई नेताबीच छलफल भएको हो ।
कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीच पटकपटक छलफल हुँदा पनि सहमति जुट्न नसकेपछि दुवै अध्यक्ष छुट्टाछुट्टै छलफलमा जुटेका हुन्।
अध्यक्ष केपी शर्मा ओलीले हिजो नेपालसँग छलफल गर्नुभएको थियो भने आज प्रचण्डले छलफल गर्नुभएको छ । ओली र प्रचण्डबीच कर्णाली प्रदेशका विषयमा विवाद बढिरहेको छ।
ओलीले वरिष्ठ नेता नेपाललाई सहकार्यका लागि प्रस्ताव समेत राख्नुभएको छ । त्यसको अर्को दिन प्रचण्डले वरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि कर्णालीमा समस्या देखिएको छ । तर अन्तिममा नेपाल पक्षीय सांसदले साथ दिएपछि शाहीको पद जोगिएको थियो।
कर्णाली सत्तापलट हुने गरी विवाद भएपछि ओली र प्रचण्डले दुबै पक्षका नेताहरूलाई काठमाडौं बोलाउनुभएको थियो । तर अहिलेसम्म समाधान निस्केको छैन ।
प्रतिक्रिया