Political Hightlights

नेकपा कर्णाली प्रदेश विवादमा ओली र प्रचण्डबीच दूरी झनै बढ्यो, नेपाललाई फकाउँदै ओली

हिमालय टिभी
२०७७ कार्तिक ५ गते ७:४१
नेकपा कर्णाली प्रदेश विवादमा ओली र प्रचण्डबीच दूरी झनै बढ्यो, नेपाललाई फकाउँदै ओली

५ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशमा देखिएको समस्या कसरी समाधान गर्ने भन्नेबारेमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चरम विवाद देखिएको छ ।

ओलीका तर्फबाट विवाद समाधान भएको दावी गरिँदा प्रचण्डका तर्फबाट त्यसको खण्डन भएको छ ।

कर्णाली प्रदेशको विवाद समाधान भएको बालुवाटार औपचारिक दाबी छ । तर, खुमलटारले भने कुनै निर्णय नभएको भन्दै खण्डन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चार बुँदे सहमति भएको भन्दै विवाद मिलेको सन्देश सार्वजनिक गर्नुभएको छ ।

थापाका अनुसार कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, सीता नेपालीलाई प्रमुख सचेतक बनाउने निर्णय बदर गरी सचेतक नै कायम गर्ने, मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय गर्ने सहमति भएको छ ।

तर थापाले प्रेस नोट सार्वजनिक गरेर निर्णय भएको दावी गरेपछि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पनि प्रेस नोट जारी गरेर त्यसको खण्डन गर्नुभएको छ । सापकोटाका अनुसार ओली र प्रचण्डबीच कुनै सहमति भएको छैन ।

छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको सापकोटाले बताउनु भएको छ ।

सापकोटाका अनुसार अरु सबै भ्रम हुन । ओली र प्रचण्डको सचिवालयबाट सार्वजनिक गरिएका सूचनाले नेकपा भित्रको विवाद थप चर्किने देखिएको छ ।

यसैबीच नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दूरी बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आफूसँग मिलेर जान प्रस्ताव गर्नु भएको छ ।

स्थायी कमिटीका निर्णय कार्यान्वयन र पछिल्लो पटक नेकपाको कर्णाली प्रदेशको विवाद समाधानको विषयलाई लिएर ओली प्रचण्डबीच दूरी बढेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई आफूसँग मिलेर जान प्रस्ताव गर्नु भएको हो ।

ओली र नेपालबीच हिजो बालुवाटारमा झन्डै सवा दुई घण्टा भेटवार्ता भएको थियो । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गर्नु भयो । भेटमा प्रचण्ड निवास खुमलटार धाउनभन्दा आफूसँग मिलेर जाँदा राम्रो हुने ओलीको प्रस्ताव थियो ।

नेता नेपाल निकट नेताहरूका अनुसार मिलेर जाऔँ भने पनि ओलीको तर्फबाट ठोस प्रस्ताव भने आएको छैन । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा ओली र नेपाल समूह एक ठाउँ भएका थिए । पछि प्रचण्ड र नेपाल समूहबीच सहमति भएपछि कर्णालीको राजनीतिमा नयाँ मोड आएको थियो ।

अहिलेसम्म कर्णाली विवाद टुंगिएको छैन, बरु विवाद बढेको छ । विहान प्रचण्डसँग छलफल गरेर गलाउने प्रयास गरेका प्रधानमन्त्री ओलीले दिउँसो माधव नेपाललाई बोलाएर फकाउँदै कर्णालीको विवादमा मौन बसिदिन समेत आग्रह गर्नु भएको छ ।

पछिल्लो पटक नेकपाभित्रको शक्ति संघर्षमा प्रचण्ड नेपाल एकै ठाउँ देखिएपछि ओली र नेपालबीच दूरी बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्