कोरोना संक्रमणबाट एक जना अस्पताल सञ्चालकसहित सात जनाको मृत्यु
३ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक मोरङमा चारसहित ७ जनाको मृत्यु भएको छ । चितवन, बाग्लुङ, सुनसरीमा एकएक जनाको मृत्यु भएको हो ।
विराटनगरमा संक्रमणबाट अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा दुई, कोशी अस्पताल कोभिड–नाइन्टिन उपचार केन्द्र र न्यूरो अस्पतालको कोभिड–नाइन्टिन अस्पतालमा एकएक जनाको मृत्यु भएको हो ।
नोबेल मेडिकलमा मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको आज बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
कोशी अस्पतालमा विराटनगर–२ की ६० वर्षीया महिलाको आज बिहान ४ बजेतिर मृत्यु भएको छ । त्यस्तै न्यूरो अस्पतालमा मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । उनी पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा. लि.का सञ्चालक समेत हुन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मृतकमा पहिलो पटक असोज १८ गते संक्रमण पुष्टि भएको थियो । उनको दोस्रो पटक पीसीआर गराउँदा कात्तिक १ गते पनि रिपोर्ट पोजेटिभ आएको थियो ।
यस्तै चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनी गत असोज २० गते अस्पताल भर्ना भएका थिए । उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि पीडित मृतकमा त्यही दिन संक्रमण पुष्टि भएको थियो ।
यसैगरी, बागलुङको बागलुङ नगरपालिका १३ का ४८ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रतिक्रिया