Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १ गते १२:४९
देशका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु

१ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट चितवन र बाँकेमा दुईदुई तथा झापा र सुनसरीमा एकएक जनाको मृत्यु भएको छ ।

चितवनमा संक्रमणबाट जनप्रतिनिधिसहित दुई जनाको मृत्यु भएको छ । मृतक दुबै खैरहनी नगरपालिकाका हुन् । खैरहनी नगरपालिकाका वडा नम्बर १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

दुई दिनअघि मात्र संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट पीडित थिए । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

यस्तै चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका–६ की ६८ वर्षीया महिलाको मृत्यु भएको छ । ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि गत असोज २४ गते अस्पताल भर्ना भएकी उनलाई २७ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै बाँकेको भेरी अस्पताल नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ । मृतक नेपालगञ्ज–१० भृकुटीनगरका ६१ वर्षीय पुरुष र कारकाँदोकी १८ वर्षीया युवती रहेको अस्पताल प्रशासनले जनाएको छ । पुरुषको गएराति ९ बजे र युवतीको त्यसको आधा घण्टापछि मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या पश्चात यही असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको प्लाजामा थेरापी लगायत विधिबाट पनि उपचार गरिएको थियो भने युवती २९ गते अस्पताल भर्ना भएकी थिइन् ।

उता कोरोना संक्रमणबाट झापाका दुईजना संक्रमितको मृत्यु भएको छ। दमक नगरपालिकाका–५ का ५८ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ। यस्तै शिवसताक्षी–११ दुधेका ५६ वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *