कांग्रेस केन्द्रिय समिति बैठक अब तिहारपछि मात्र बस्ने
२८ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशैंतिहारपछि बस्ने भएको छ ।
यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दशैंतिहारपछि मात्रै बस्ने भएको हो । कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दशैंअघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन पछाडी सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उहाँले बताउनुभयो । दशै र तिहारकोबीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माले बताउनुभयो ।
विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रिय समिति बैठक बोलाइएको हो । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रुपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो ।
प्रवक्ता शर्माले फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताउनुभयो ।
फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उहाँले बताउनुभयो । यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रिय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भएपनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।
प्रतिक्रिया