Main News

कोरोनामा संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १६ गते १३:१७
कोरोनामा संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु

१६ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देही र भक्तपुरमा थप दुईदुई तथा मोरङमा थप एक जनाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नम्वर ८ की ७२ वर्षीया महिलाको भक्तपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

मृतक महिलामा असोज ७ गते कोरोना संक्रमण पुष्टि भएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

काठमाडौंको एक अस्पतालमा उपचार गराइरहँदा स्वास्थ्यमा जटिल समस्या आएपछि आइसीयुका लागि उनलाई भक्तपुर अस्पताल लगिएको थियो ।

भक्तपुर अस्पतालमै अर्का एक संक्रमितको पनि मृत्यु भएको छ । सप्तरी घर भई हाल भक्तपुरको व्यासीमा बस्ने ४७ वर्षीय पुरुषको हिजो मृत्यु भएको हो । उनको असोज १२ गतेदेखि उपचार भइरहेको थियो ।

यसैगरी, रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वर ७ रामापुरका ६० वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको छ । संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा थिए ।

बुधबार मृत्यु भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्ती मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा हिजो उनमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, मोरङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

कोशी अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका वडा नम्बर १४ जटुवाकी ७२ वर्षीया महिलाको मृत्यु भएको हो ।

असोज ५ गते अस्पताल भर्ना भएकी महिलाको उपचारको क्रममा आज मध्यान्ह १२ बजे मृत्यु भएको कोशी कोभिड नाइन्टिल अस्पतालका संयोजक डा। दीपक सिग्देलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *