नेपालमा आज एकैदिन १९११ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो

१५ असोज, २०७७ काठमाडौं । नेपालमा आज एकैदिन १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन भेटिएको संक्रमितको यो संख्या अहिलेसम्मकै दोस्रो धेरै हो । यसअघि एकैदिन २ हजार २० जनामा संक्रमण भेटिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ९ सय ४३ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा सबैभन्दा धेरै ८ सय १७ छन् ।
उपत्यकावाहिर कैलालीमा १ सय ६१, मोरङमा १ सय ५, रुपन्देहीमा ९१ तथा चितवनमा ८६ संक्रमित थपिएका छन् । नेपालमा संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।
नयाँ संक्रमित–१९११–७९७२८
संक्रमणमुक्त–९६१–५७३८९
मृत्यु–११–५०९
पीसीआर परीक्षणः
काठमाडौं ८१७
मोरङ १०५
चितवन ८६
ललितपुर ६८
सुनसरी ६६
भक्तपुर ५८
सिरहा ३९
बाँके ३०
धनुषा १९
पर्सा २८
कास्की २८
काभे्र १७
धादिङ १७
मकवानपुर १७
महोत्तरी १६
सप्तरी १६
बारा १४
पछिल्लो पटक थप ९ सय ६१ संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । गत २४ घण्टामा १२ हजार ४ सय ४४ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
यसैबीच नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । थप ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक काठमाडौं उपत्यकामा चार, सुनसरी र रुपन्देहीमा ३(३ तथा बाँकेमा एकजनाको मृत्यु भएको छ । काठमाडौंका ६८ र ७८ वर्षीय, ललितपुरका ४८ वर्षीय तथा भक्तपुरका ६८ वर्षीय पुरुषको संक्रमणका कारण ज्यान गएको छ ।
यस्तै सुनसरीका २७, ५० र ५६ वर्षीय पुरुष, रुपन्देहीका ४२, ५५ र ८० वर्षीय पुरुष तथा बाँकेकी ३४ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ । असोज महिनाको १५ दिनमै १ सय २६ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया