Main News

कोरोना संक्रमणबाट विराटनगर, धरान र बाँकेमा थप चार जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १३ गते ९:०३
कोरोना संक्रमणबाट विराटनगर, धरान र बाँकेमा थप चार जनाको मृत्यु

१३ असोज, २०७७, काठमाडौं । विराटनगर, सुनसरीको धरान र बाँकेको नेपालगञ्जमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो समय विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनबर्षी नगरपालिकाकी ७ की ६८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

असोज १० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको आज बिहान ३ बजे निधन भएको प्रवक्ता डा निदेश सापकोटाका बताउनुभयो ।उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

मृतकलाई नोबल मेडिकल कलेज विराटनगरले वीपीमा रिफर गरेको थियो । मृतकलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि कोभिड भएर वीपीमा रिफर गरिएको थियो।

त्यसैगरी विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोशी अस्पतालमा भर्ना गरिएको केहीबेरमै उनको मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक डा लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको भन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको यादवले बताउनुभयो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

मृतकमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको डा यादवले बताउनुभयो । अहिलेसम्म कोरोनाका कारण वीपी प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ भने प्रदेश एकमा मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

त्यसैगरी बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका– १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गर्नुभयो । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए ।

नेपालगन्जका मृतकको घर दाङको घोराही हो । उनी लामो समयदेखि नेपालगन्जमा बस्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *