थप विभिन्न स्यानिटाइजर हानिकारक भएकाले प्रयोग नगर्न आग्रह

१२ असोज, २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ ।
बजारमा आएका थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले आग्रह गरेको हो ।
विक्री–वितरणका लागि राखिएका विभिन्न कम्पनीका ह्याण्ड स्यानिटाइजरको परीक्षणका क्रममा स्यानिटाइजरमा रसायन मिसाइएको पाइएको विभागले सूचनामार्फत जानकारी गराएको हो ।
विभागले भारतको हर्बल ट्री ह्याण्ड रब, पर्साको आर केमिकल एण्ड प्याकेजिङद्वारा उत्पादित कुम र क्लिन ह्याण्ड स्यानिटाइजर, बनेपाको कुमकुम हर्बल इन्ड्रस्टिजका दुई ह्याण्ड स्यानिटाइजर, ललितपुरको ओम आरोग्य हेल्थ केयरको इन्स्टा ह्याण्ड स्यानिटाइजर, काठमाडौंको साधना सप्लायर्सको ह्याण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाडौंले उत्पादन गरेका दुई ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न भनेको छ ।
रसायनको प्रयोगले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहने चिकित्सको भनाइ छ । यसअघि पनि विभागले विभिन्न नौ कम्पनीका स्यानिटाइजरमा रसायन भेटेपछि उत्पादन र प्रयोगमा रोक लगाइसकेको छ ।
प्रतिक्रिया