Main News

कोरोना संक्रमणले पर्यटन दिवस खल्लो, तङ्ग्रिने झिनो आशा अझैं बाँकी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ११ गते २०:२०
कोरोना संक्रमणले पर्यटन दिवस खल्लो, तङ्ग्रिने झिनो आशा अझैं बाँकी (भिडियोसहित)

११ असोज, २०७७, काठमाडौं । दिगो विकासका निम्ति ग्रामीण पर्यटन भन्ने मूल नाराका साथ आज पर्यटन दिवस मनाइयो । पर्यटन दिवसमा औपचारिकताका लागि कार्यक्रम गरिए पनि पर्यटन क्षेत्रमा भने यो वर्ष रौनक देखिएन । किनकी कोरोना संक्रमणले यो क्षेत्रमा सबैभन्दा बढी मार परेको छ ।

कोरोना भाइरसको महामारी नफैलिएको भए अहिले २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित नेपाल भ्रमण वर्ष मनाइरहेको हुन्थ्यो । लक्ष्य अनुरुप पर्यटक नभित्रिएको खण्डमा समेत अघिल्ला वर्षको भन्दा बढी अर्थात १२ लाख बढी पर्यटक भित्रिने सहज अनुमान गर्न सकिन्थ्यो ।

पोहोर परारझैं मुख्य पर्यटकीय क्षेत्रका होटल खचाखच हुन्थे, सधैं चहलपहल हुने ठमेल बजारमा उस्तै रौनक हुने थियो । पर्यटन व्यवसायी र मजदुर काममा व्यस्त हुने थिए । हवाई जहा नियमित रुपमा उडिरहेकै हुन्थे । तर कसैले नचिताएको कोरोना कहरका कारण सबै तहस नहस भयो ।

सबैभन्दा बढी पर्यटन क्षेत्रमै धक्का पुग्यो । कोरोनाका कारण पर्यटक आगमन ठप्प भएको छ । होटल खाली भएर बन्द हुनेक्रम रोकिएको छैन् । अब कसरी ऋण तिर्ने होला भनेर पर्यटन उद्यमी चिन्तित त छन् नै आश्रित लाखौँ मजदुरको रोजीरोटी गुमेको छ । त्यसैले यो वर्ष पर्यटन क्षेत्रका लागि सबैभन्दा प्रतिकुल वर्ष देखिएको छ जुन अमिलो मन बनाएर स्वंय पर्यटन मन्त्री योगेश भट्टराईले भनिरहनुपरेको छ ।

‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ नारासहित मनाइएको यो वर्षको ४१ औं विश्व पर्यटन दिवसमा कुनै रौनक देखिएन् । तर पनि पर्यटन मन्त्री योगेश भट्टराई औपचारिकताका लागि भएपनि काठमाडौंको चोभारस्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गर्नुभयो ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्रले खर्बौको आम्दानी गुमाए पनि आशाका संकेत भने मरेका छैनन् । ६ महिनासम्म ठप्प पर्यटन क्षेत्र जुर्मुराउन थालेको छ । तर कोरोना महामारी नियन्त्रणमा नआइसकेकाले अझै विदेशी पर्यटक आगमनको सम्भावना छैन् । कोरोना महामारी नियन्त्रणमा आइहाले पनि विदेशी पर्यटकको प्राथमिकतामा भ्रमण नपर्ने देखिन्छ । त्यसैले पर्यटन क्षेत्रलाई अघि बढाउन महत्वपूर्ण टेको आन्तरिक पर्यटन नै हुने देखिन्छ । त्यसैले सरकारले समेत आन्तरिक पर्यटन प्रवर्द्धनमा विभिन्न योजना बनाइरहेको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्नकै लागि पर्यटन मन्त्रालयले साताको २ दिन विदा दिने सम्भावनाबारे अध्ययन गरिरहेको छ । वायुसेवा सञ्चालकले समेत विभिन्न प्याकेज घोषणा गरेर आन्तरिक पर्यटक तान्ने प्रयास गरिरहेका छन् । तर यसले ठोसरुपमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिहाल्न सकेको छैन् ।

त्यसैले लामो समय बन्द रहेर विस्तारै जुर्मुराउन खोजेको पर्यटन क्षेत्रलाई टेको दिन आन्तरिक पर्यटन प्रवर्द्धन हुने गरी सबै सरोकारवाला क्षेत्रले योजना बनाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *