Main News

धरान, बाँके र पर्सामा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज ९ गते १४:५५
धरान, बाँके र पर्सामा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु

९ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट धरानमा थप दुई तथा बाँके र पर्सामा एकएक जनाको मृत्यु भएको छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना संक्रमितको मृत्यु भएको हो ।

सप्तरीको राजविराजका ७० वर्षीय पुरुष र मोरङको कानेपोखरीका ५५ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

७० वर्षीय पुरुष भदौ २८ गते भर्ना भएका थिए । भदौ २५ गते संक्रमण पुष्टि भएका उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले धरान रेफर गरेको थियो ।

यस्तै असोज ५ गतेदेखि आइसीयुमा उपचार गराइरहेका कानेपोखरीका ५५ वर्षीय पुरुषमा आन्द्रामा क्यान्सर पाइएपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यता नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर– ३ एकलैनीका ५२ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा गएराती मृत्यु भएको छ । उनी भदौ ६ गते राति ११ बजे अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यसैगरी,पर्साको पोखरिया नगरपालिका वडा नम्वर १ का ७७ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजको अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ ।

मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पर्सामा कोरोनाबाट मृत्य हुनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *