Main News

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु, १४९७ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ असोज ८ गते १७:२१
कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु, १४९७ जना संक्रमित थपिए

८ असोज, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । २४ घण्टामा यति धेरैको ज्यान गएको यो अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ । थप १४ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । डिस्चार्ज हुनेको संख्या पनि ५० हजार नाघेको छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा ६ जनाको ज्यान गएको छ । काठमाडौंका ७५, ७९ र ८० वर्षका पुरुष र ८२ वर्षकी महिला तथा भक्तपुरकी ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै मोरङकी ५५ वर्षीया महिला, झापाकी ७८ वर्षीय पुरुष, सुनसरीकी ८१ वर्षीया महिला, धनुषाका ६८ र ७० वर्षका पुरुष तथा रौतहटका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै धादिङकी ३२ वर्षीया महिला तथा तनहुँ र दाङका ३९ वर्षीय, कपिलवस्तुका ५० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भदौ महिनामा मात्रै ७३ जनाको ज्यान गएको छ ।

थपिएका संक्रमित मध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । उपत्यकाका तीन जिल्लामा थप ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ६ सय ९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ संक्रमित थपिएका छन् ।

उपत्यकावाहिर चितवनमा १ सय ३७, रुपन्देहीमा ८६, मोरङमा ७३ तथा बाँकेमा ५३ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक थप ४ सय ५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुकत हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।

बगत २४ घण्टामा ११ हजार ४ सय ४९ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । २ सय ३२ संक्रमितको आइसीयु र २८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *