Main News

स्याङ्जा र पाल्पामा पहिरोमा पुरिँदा ११ जनाको मृत्यु, पाँच जना अझै बेपत्ता

हिमालय टिभी
२०७७ असोज ८ गते १४:३४
स्याङ्जा र पाल्पामा पहिरोमा पुरिँदा ११ जनाको मृत्यु, पाँच जना अझै बेपत्ता

८ असोज, २०७७, काठमाडौं । स्याङजामा पहिरोमा पुरिएर एकै परिवारको ९ सहित १० जनाको मृत्यु भएको छ भने पाल्पामा एक जना सुत्केरीको ज्यान गएको छ। पाल्पामा पाँच जना बेपत्ता छन् ।

स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका ९ जनासहित १० जनाको मृत्यु भएको हो । वालिङ नगरपालिका वडा नम्वर १४ तमादीमा गएराती गएको पहिरोमा पुरिएर एकै परिवारका ९ जनाको ज्यान गएको हो ।

कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ । तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जिवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भएको छ । उमा र माया दिदीबहिनी हुन् । दीपक, कुलदीप, विक्रम र विवश उनका छोराहरु हुन् । बिनिता र कुलदीपसहित उनका ७ महिने शिशुको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

पहिरोमा पुरिएर घाइते भएकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा लगिएको छ । आज बिहान स्याङ्जाकै कालिगण्डकी गाउँपालिका–४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी पाल्पामा अविरल वर्षापछि आएको पहिरोले घर भत्किदा च्यापिएर एक गर्भवतीको मृत्यु भएको छ । पाँच जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन् ।

रम्भा गाउँपालिका वडा नम्बर–२ सुरुङ्डाँडाकी मोतिसरा गाहाको मृत्यु भएको हो । पहिरोमा परी घाइते भएकी अन्जु पुनलाई उद्धार गरी उपचालका लागि अस्पताल पठाइएको छ ।

यस्तै रम्भाकै गहिरा टोलमा गएको पहिरोले दुई घर पुरिदा बेपत्ता भएका पाँच जनाको खोजी भैरहेको छ । पहिरोमा परी बेपत्ता हुनेमा हुमबहादुर गाहा उहाँकी श्रीमती, दुई नातिनी र छोरी रहेको वडा अध्यक्ष उमानसिंह सारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *