Main News

स्याङ्जा र पाल्पामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, १४ जना बेपत्ता

हिमालय टिभी
२०७७ असोज ८ गते ९:५२
स्याङ्जा र पाल्पामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, १४ जना बेपत्ता

८ असोज, २०७७, काठमाडौं । स्याङ्जा र पाल्पाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।

स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको हो भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् ।

पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ । तर, घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा एकै घरका पाँच जनासहित ६ जना बेपत्ता भएका छन् ।

विरल वर्षापछि खसेको पहिरोले आज बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका हुन् । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो ।

हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले बताउनुभयो । होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको र उद्धार टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *