मनसुन केही दिन लम्बिने, अझै चार दिनसम्म वर्षा हुने पूर्वानुमान

७ असोज, २०७७ काठमाडौं । यस वर्षको मनसुन थप केही दिन लम्बिने भएको छ ।
केही दिन यताको लगातार वर्षासँगै मनसुन लम्बिएको जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । आज यस वर्षको मनसुन सकिने दिन हो ।
तर अबको चार(पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पूर्वी र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेका कारण अझै केही दिन कतै झरी र कतै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बङ्गालको खाडीमा ठूलो न्यून चापीय क्षेत्र छ । जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा छ । त्यसको केही भाग उत्तरतिर सर्ने भएकाले अझै केही दिन देशका समग्र भूभागमा नै मनसुनी प्रभाव कायम हुनेछ ।
यसैबीच बुटवलको तिनाउ नदीले सतर्कता तह पार गरेको छ । मौसम विभागले तिनाउ नदी तटीय क्षेत्र र आसपासका होचा स्थानमा डुबान हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
प्रतिक्रिया