Main News

अस्ताए आङरिता भरियादेखि कीर्तिमानी आरोहीसम्म (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ५ गते २०:२९
अस्ताए आङरिता भरियादेखि कीर्तिमानी आरोहीसम्म (भिडियोसहित)

५ असोज, २०७७ काठमाडौं । कृतिम अक्सिजनबिना नै १० पटक सगरमाथा आरोहण गरेका विश्व प्रख्यात आरोही आङरिता शेर्पाको आज निधन भएको छ ।

‘हिमचितुवा’ उपनाम पाएका प्रसिद्ध सगरमाथा आरोही शेर्पाको आज बिहान जोरपाटीस्थित निवासमा निधन भएको हो । ७२ वर्षीय शेर्पा विगत ३ वर्षयता कलेजो र मस्तिष्कसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको आगामी बुधबार बौद्ध संस्कारअनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । सामान्य भरियाबाट आरोहण शुरु गरेका शेर्पाको जीवन आरोह अवरोहले भरिएको छ ।

सन् १९४८ मा जन्मिएका आङरिताको पाइला पुर्ख्यौली पेसा चौंरीपालन हुँदै भरिया, किचन ब्वाई, क्लाइमिङ शेर्पा, सरदार, लिडर र लेजेन्ड अफिसर हुँदै हिमालतर्फ लम्कियो । १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका शेर्पाले २० वर्षको उमेरमा चोयु हिमाल चढेर आरोहण यात्रा शुरु गर्नु भएको थियो ।

शेर्पाले विश्वकै अग्लो चुचुरो सगरमाथासँगै पाकिस्तानको सर्वोच्च शिखर माउन्ट के–टुकोसमेत आरोहण गर्नुभएको थियो । नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालसमेत पटक–पटक आरोहण गरेका उहाँले पहिलो पटक सन् १९८३ मा बिना कृतिम अक्सिजन सगरमाथा चुचुरामा पाइला टेक्नुभएको थियो ।

त्यसपछि त उहाँले अक्सिजनको सिलिन्डर नै नबोकी सगरमाथा चढ्ने क्रम बढेर गयो । सन् १९८६, ८९ र ९४ बाहेक उहाँले वर्षको एक पटक सन् १९९६ सम्म सगरमाथा शिखर उक्लिनुभयो । कृतिम अक्सिजनबिना १० पकट सगरमाथा चढेका कारण उहाँको नाम गिनिज बुकमा मात्र दर्ज भएन् ‘हिमचितुवा’ उपनामले पनि उहाँ परिचित हुनुभयो ।

सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा बिरामी परेर पनि आरोहण पूरा गरेका उहाँको पाइला त्यसपछि भने रोकियो ।
तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई भेट्नै पठाएर अब आरोहण नगर्न आङ्गरितालाई आग्रह गर्नुभएको थियो । त्यसपछि वीरेन्द्रको आग्रह स्वीकार्दै शेर्पाले हिमाल चढ्नु भएन् ।

हिमाल चढ्न रोकिएपछि उहाँको आर्थिक अवस्था भने दयनीय हुँदै गयो । दयनीय आर्थिक अवस्थाका कारण नेपाल पर्वतारोहण सङ्घले उहाँलाई मासिक रुपमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको थियो । तर त्यो पर्याप्त थिएन् ।

अवकाश प्राप्त आरोहीको जीवन निकै सकसपूर्ण रहेको उहाँले पटक पटक बताउँदै आउनुभएको थियो । यद्यपि आर्थिक अभावका बावजुद उहाँले कहिल्यै कसैसँग हात पसार्नु भएन् । भारत सरकारले भारतमै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव समेत उहाँसमक्ष राखेको थियो ।

तर न त उहाँले भारतको प्रस्ताव स्वीकार्नु भयो न त सरकारसँग नै केही माग्नुभयो । कृतिक अक्सिजनबिना सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका उहाँले आर्थिक अभावकै माझ मृत्युवरण गर्नुपर्यो । ७४ वर्षको उमेरमा निधन भएका आङ्गरिताको नाम भने विश्वभरी अमर रहिरहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *