Main News

विद्युत प्राधिकरणमा किन पुनःनियुक्त भएनन् कुलमान ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २९ गते २०:१९
विद्युत प्राधिकरणमा किन पुनःनियुक्त भएनन् कुलमान ? (भिडियोसहित)

२९ भदौ, २०७७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट सेवानिवृत हुनुभएका कुलमान घिसिङको पुनर्नियुक्तीलाई लिएर ब्यापक जनदबाव परिरहे पनि सरकारले बेवास्ता गरेको छ ।

प्राधिकरणमा कुलमान जस्ता क्षमतावानलाई पाखा लगाएर नातेदार, माफिया वा विवादास्पद व्यक्तिलाई नियुक्त गर्न खोजिएको त छैन् भन्ने आंशका बढाएको छ । आजको मन्त्रिपरिषद बैठकमा समेत कुलमानको नियुक्तिसम्वन्धि प्रस्ताव नलगिएपछि सामाजिक संजालमा सरकारको चर्को आलोचना भइरहेको छ ।

केही दिनअघि उर्जा, जलस्रोत तथा सिचाँई मन्त्री वर्षमान पुन अनन्तले कुलमान घिसिङलाई नै प्राधिकरणको प्रबन्ध निर्देशकमा दोहोर्याउने गरी प्रस्ताव लैजाने बताउनुभएको थियो ।

तालुकदार मन्त्रालयका मन्त्रीले नै भनेपछि सरकारले राम्रो काम गर्न लागेको भन्दै प्रशंसा भयो । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पुनः नियुक्ती गर्ने अपेक्षा थियो । तर शुक्रबारको मन्त्रिपरिषदले यस सम्बन्धमा कुनै निर्णय लिएन् । त्यसपछि सोमबार बसेको मन्त्रिपरिषदले घिसिङलाई नियुक्त गर्ने धेरैको अनुमान थियो ।

तर सोमबारको बैठकमा पनि कुलमानको नियुक्तिबारे उर्जा मन्त्रालयले प्रस्ताव लगेन । कुलमानलाई दोहोर्‍याउन प्रधानमन्त्री अनिच्छुक देखिएकाले प्रस्ताव नलगिएको उर्जा मन्त्रालय स्रोतको दाबी छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुलमानलाई नै प्राधिकरणको जिम्मेवारी दिनुपर्ने पक्षमा हुनुहुन्थ्यो । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै यसबारे दबाब पनि दिनुभएको थियो । त्यसका बाबजुद पनि बालुवाटार कुलमानसँग सकारात्मक हुन सकेन ।

उर्जामन्त्री बर्षमान पुन पनि शुरुबाटै कुलमानप्रति सकारात्मक नभएको बताइन्छ । प्राधिकरणलाई नाफामा लगेर मुलुकबाट लोडसेडिङ हटाएको जस कुलमानलाई मात्रै गएकोमा प्रधानमन्त्री र उर्जामन्त्रीको असन्तुष्टि थियो ।

यस्तै सामाजिक सञ्चाल र मिडियाबाट आइरहेको दबाबलाई पनि प्रधानमन्त्री ओलीले नकारात्मक रुपमा लिइरहेको बालुवाटार स्रोतको भनाइ छ ।

यसबाहेक प्राधिकरणभित्रको पूर्व एमाले खेमाले पनि कुलमानलाई नहोर्याउन दिइरहेको दबाबले प्रधानमन्त्री ओली प्रभावित हुनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकमा उपेन्द्र कोइराला, लगानी बोर्डमा सुशील भट्ट र रेल वे कम्पनीमा गुरु भट्टराईजस्ता विवादास्पद व्यक्तिलाई नियुक्त गरेर बदनामी कमाएको सरकार कुलमानलाई पाखा लगाएर थप आलोचना व्यहोर्न तयार देखिएको छ ।

त्यसको सुरुवात समेत भइसकेको छ । समाजिक संजालमा अहिले सरकारको यस्तो रवैयाको चर्को आलोचना भइरहेको छ । कलाकार दीपकराज गिरीको नेतृत्वमा ‘ब्ल्याक आउट’ अभियान नै सुरु भएको छ । कुलमान नियुक्तीको माग गर्दै हरेक दिन ८ बजे ५ मिनेट बत्ती निभाउने अभियानको तयारी छ ।

यसअघि प्राधिकरणको आधिकारिक ट्रेड युनियनले समेत प्राधिकरणमा कुलमान नै जरुरी रहेको भन्दै पुर्ननियुक्तिको माग गरेको थियो । तर व्यापक जनदबाबका बाबजुद सरकारले कुनै दबाब महसुस गरेको छैन् । यस्तै एउटा संस्थानको प्रमूखका लागि यत्रो जनदबाब किन परिरहेको छ भनेर बुझ्न समेत उसले खोजेको छैन् । सरकारको ओरालो लागेको अलोकप्रियता यो प्रकरणले अझ बढाउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *