Main News

विभिन्न अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २९ गते १४:२३
विभिन्न अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु

२९ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । भक्तपुर र कपिलवस्तुका २–२ तथा नवलपरासी पूर्व, मोरङ, पर्सा र सिरहाका एक–एक जनाको ज्यान गएको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ५ का एक महिला र एक पुरुषको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको छ । ४७ वर्षीया महिलाको बुटवलको कोरोना विशेष अस्थायी अस्पताल र ५८ वर्षीय पुरुषको भैरहवा स्थित भीम अस्पतालमा मृत्यु भएको हो ।

यस्तै भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्वर ५ का ७७ वर्षीय पुरुष र वडा नम्वर ७ का ८१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठका अनुसार ७७ वर्षीय पुरुषको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमणपछि मुटुको शल्यक्रिया गरिएका उनको आज बिहान मृत्यु भएको हो । ८ दिन अघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेका ८१ वर्षीय पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेयर श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, गण्डक कोभिड अस्पतालमा वीरगंज महानगरपालिका वडा नम्वर १० की ५५ वर्षीया महिलाको मृत्यु भएको छ । भदौ २२ गते संक्रमण पुष्टि भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङको धनपालथान गाउँपालिका वडा नम्वर ६ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै चितवन मेडिकल कलेजमा नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका वडा नम्वर ९ की ६२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ती महिलाललाई भदौ १५ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सिरहाका एक जना कोरोना संक्रमितको जनकपुरधाममा मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्वर २ बन्दीपुरकी ३५ वर्षीया महिलाको जनकपुर प्रादेशिक अस्पतालको आइसीयुमा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *