Main News

देशका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २९ गते १२:४८
देशका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु

२९ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । विभिन्न जिल्लाका अस्पतालमा उपचार गराइरहेका कपिलवस्तुका २, नवलपरासी पूर्व, मोरङ, पर्सा र सिरहाका एकएक जनाको ज्यान गएको हो ।

रुपन्देहीमा कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुको शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिला र भैरहवाको भीम अस्पतालमा शिवराज नगरपालिका ५ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैगरी, गण्डक कोभिड अस्पतालमा उपचारत पर्साको वीरगंज महानगरपालिका–१० की ५५ वर्षीया महिलाको मृत्यु भएको छ । भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो । योस‍ँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–नाइन्टिन अस्पतालमा मोरङको धनपालथान–६ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै चितवन मेडिकल कलेजमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–९ की ६२ वर्षीया महिलाको मृत्यु भएको छ। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि ती महिलाललाई भदौ १५ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सिरहाका एक जना कोरोना संक्रमितको जनकपुरधाममा मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरकी ३५ वर्षीया महिलाको जनकपुर प्रादेशिक अस्पतालको आइसीयुमा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *