Main News

निषेधाज्ञा खुकुलो भएसँगै जथाभावी खुल्यो बजार, प्रशासन बन्यो मूकदर्शक (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २८ गते २०:३०
निषेधाज्ञा खुकुलो भएसँगै जथाभावी खुल्यो बजार, प्रशासन बन्यो मूकदर्शक (भिडियोसहित)

२८ भदौ, २०७७, काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले तोकेका मापदण्ड र आदेश विपरित काठमाडौं उपत्यकामा बजार सञ्चालन भएको छ ।

उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले तीन साता लामो निषेधाज्ञालाई भदौ २४ गते खुकुलो बनाई हप्तामा तीन दिन पसल सञ्चालन गर्न पाउने गरी दिन तोकेका थिए । तर तोकिएका दिन बाहेकमा पनि सबैजसो पसल व्यवसाय सञ्चालन हुन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आइतबार भाँडाकुँडा तथा भान्साका लागि आवश्यक सामान पाइने पसल मात्र खुल्नु पर्ने हो । तर आदेश विपरीत आइतबार सबै खालका पसल खुल्ला भए ।

खाद्यवस्तु, दुधजग्य पदार्थ, फलफूल, तरकारी, माछामासु लगायतका दैनिक उपभोग्य वस्तु बेच्चे पसल बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने हो । तर त्यस्ता पसल दिनभरी खुल्ला भए ।

काठमाडौंका असन इन्द्रचोक न्युरोडसहितका सबै व्यापारिक स्थलमा सबै प्रकारका पसल दिनभरी नै खुल्ला भए ।

सरकारले कोरोना संक्रमण रोकथाम गर्न स्वास्थ्य सम्बन्धी मापदण्ड पनि बनाएको छ । त्यो मापदण्ड अनुसार पसलेले मास्क र स्यानिटाइजर प्रयोग गर्नु पर्छ । मास्क लगाएका मानिसलाई स्यानिटाइजर दिनुपर्छ । अनि मात्र पसलमा छिर्न दिनु पर्छ । तर व्यापारी आफैं मास्क नलगाई पसलमा बसेको समेत देखिएको छ ।

पसलमा भीड गर्न पाइँदैन । भौतिक दूरी पालना गर्नुपर्छ । तर भौतिकदुरी पालना गरेको समेत देखिँदैन । तर केहीले भने स्वास्थ्य सम्बन्धी मापदण्डलाई पालना गरेका छन् ।

कोरोना संक्रमणबाट बच्न अरु हैन आफैं सचेत हुनुपर्छ । केहीले भने यो बुझेका छन् ।

कोरोना रोकथामका लागि भन्दै कहिले लकडाउन त कहिले निषेधाज्ञा भनेर गत चैतदेखि व्यापार व्यवसाय डामाडोल भएको छ । कतिपय व्यापारी विस्थापित भएर गाउँ फर्केका छन् ।

काठमाडौंमा बसेकाहरु पनि आर्थिक समस्यामा छन् । उनीहरु कहिले निषेधाज्ञा हट्ला र व्यापार व्यवसाय शुरु गरौँला भनेर पर्खि बसेका थिए ।

त्यसैले निषेधाज्ञा हटेर बजारमा चहल पहल शुरु भएसँगै उनीहरुले पसल खोले । तर आदेश जारी गर्ने निकायले आफ्नो आदेश कार्यान्वयन भयो भएन भनेर अनुगमन गरेको छैन । सबै प्रकारका पसल खुल्नु र सुरक्षा मापदण्ड पालना नहुनुले त्यही पुष्टि गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *