Main News

नेपालमा १२०२ जना कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २७ गते १६:३८
नेपालमा १२०२ जना कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु

२७ भदौ, २०७७ काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । १२ सय २ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृतकको संख्या ३ सय ३६ पुगेको छ । यस्तै संक्रमित ५३ हजार १ सय २० भएका छन् । पछिल्लो पटक १० जिल्लाका ३ महिला र ११ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बागमति प्रदेशमा सबैभन्दा धेरै पाँचजनाको ज्यान गएको छ । काठमाडौंकी ७६ वर्षीया महिला, काठमाडौंकै ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरका ३८ र ७२ वर्षीय पुरुष तथा चितवनका ६१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

यस्तै गण्डकी प्रदेशमा ४ जना मृतक थपिएका छन् । तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष र कास्कीका ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला तथा रुपन्देहीका ४० र ६० वर्षका पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । केहीदिन घटेको मृत्युदर आज फेरि बढेको छ ।

काठमाडौं उपत्यकामा आज ४ सय ३१ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा मात्रै ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३७ र भक्तपुरमा १७ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यका बाहिर मकवानपुरमा सबैभन्दा धेरै १ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा ९२, सर्लाहीमा ८३ तथा रुपन्देहीमा ८१ जना संक्रमित थपिएका छन् ।

पछिल्लो पटक थप ८ सय ५३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

गत २४ घण्टामा १० हजार १ सय ७६ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । १ सय ६० जना संक्रमितको आइसीयु र २४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *