Main News

भक्तपुरको तीन जनाको शव फेला प्रकरणः श्रीमती र छोराको हत्यापछि आत्महत्याको आशंका

हिमालय टिभी
२०७७ भदौ २७ गते १४:३३
भक्तपुरको तीन जनाको शव फेला प्रकरणः श्रीमती र छोराको हत्यापछि आत्महत्याको आशंका

२७ भदौ, २०७७, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको घटनामा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव हिजो बेलुकी घरमै भेटिएको थियो । दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

हिजो सुदीपका भाइ सुनील घर पुग्दा शव देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ । छोरा र श्रीमतिको केहिदिनअघि हत्या गरेर सुदीपले पछि विष खाएको हुन सक्ने प्रहरीको आशंका छ ।

घरको कुकुरसमेत मरेको अवस्थामा भेटिएको छ । कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । सुदीप भक्तपुरस्थित एक औषधी कम्पनीमा काम गर्थे । धेरै रक्सी खानी बानीका कारण औषधी कम्पनीले उनलाई जागिरबाट निकाल्यो ।

निकोसेरास्थित घरको सटरमा किराना पसल छ । उनी, पछिल्लो समय सोही पसलमा बस्थे । घर बनाउँदाको ऋण र पछि थपिएको ऋणका कारण यो परिवारमा दैनिक घर झगडा हुने गरेको छिमेकीहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *