रोल्पामा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु

२७ भदौ, २०७७ रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका–१ पाँङ ऐपेमा गएराति पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिँदा स्थानीय ज्ञानसिंह घर्तीमगरका ११ वर्षीय छोरा युवराज घर्ती र ८ वर्षीय छोरा अमर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हजुरबुवा, हजुरआमा र आमासहित पाँच जना सुतेकामध्ये ३ जनाको अवस्था सामान्य रहेको छ । मृतक बालकका बुवा भने रोजगारीका लागि भारतमा रहेको लुङग्री गाउँपालिका १ का वडाध्यक्ष मोती पुनले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरीक्षक सहदेव डाँगीसहितको टोली घटनामा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो ।
प्रतिक्रिया