Main News

विराटनगर र वीरगञ्जमा उपचार नपाएर नागरिकको अकालमा मृत्यु (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते २०:५३
विराटनगर र वीरगञ्जमा उपचार नपाएर नागरिकको अकालमा मृत्यु (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । उपचार नपाएर अकालमै मृत्यु हुने क्रम देशभर बढ्दै गएको छ । विराटनगर र वीरगंज महानगरपालिकामा अन्यत्र भन्दा बढी समस्या देखिएको छ । यी दुई शहरमा अस्पतालकै ढोकामा पुगेर धेरैले ज्यान गुमाइसकेका छन् । लापरवाही गर्नेलाई कारवाही नभएपछि उपचार नपाएर ज्यान जाने क्रम रोकिएको छैन ।

घटना एक – गत साउन २३ गते वीरगंज महानगरपालिका वडा नम्बर २ का २० वर्षीय महिला विष्णु लामालाई बिहान सामान्य ज्वरो आउँछ र खोकी लाग्छ । बेलुकी श्वासप्रश्वासमा समस्या आएपछि आफन्तले उपचारका लागि वीरगञ्ज लैजान्छन् । तर वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना लिन मान्दैनन । अस्पताल चहार्दाचहार्दै उनले टेम्पुमै अन्तिम सास फेर्छिन् ।

घटना २ – विराटनगरका ६ वटा अस्पतालको दैलो चहार्दा पनि कुनै अस्पतालले उपचार गर्न मानेन् । त्यसपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ८१ वर्षीय डिगबहादुर राई बुधबार हेलिकोप्टर चार्टर गरेर घर फर्कनुभयो ।

अहिले बिरामीले कसरी उपचार अभावमा अकालमै ज्यान गुमाउनु पर्छ भन्ने बुझ्न वीरगञ्ज र विराटनगरका यी दुई उदाहरण पर्याप्त छन्। कोरोना महामारीका कारण चैतमा देश लकडाउन भएसँगै अस्पतालले बिरामी भर्ना गर्न नमानेका खबर दिनहुँ सञ्चार माध्यममा आइरहेका छन् । त्यसमध्ये कतिपयले त समयमा उपचार नपाएरै ज्यान गुमाएका छन् । र यो स्वास्थ्य मन्त्रालयलाई पनि थाहा छ । तर कारबाही गर्न भने सकेको छैन ।

ज्वरो आउने र स्वासप्रस्वासको समस्या देखिएका बिरामीलाई कोरोना नै भएको आशंकामा अस्पतालले भर्ना गर्नै मान्दैनन् । जसले गर्दा बिरामीले उपचार नै नपाएर ज्यान गुमाउँछन् । रयो समस्या सबैभन्दा धेरै विराटनगर वीरगञ्जमा छ ।

विराटनगरमा उपचार अभावकै कारण मोरङको कानेपोखरी गाउँपालिकाकी सात महिनाकी गर्भवती २३ वर्षीया सविना थापा दर्जी, पथरी शनिश्चरेकी ६२ वर्षीया सानकुमारी राई, उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीय पदम राईको विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भइसकेको छ ।

वीरगञ्जका स्वास्थ्य संस्थाले उपचार नगर्दा साउन र भदौमा मात्रै वीरगञ्ज महानगरपालिका १५ का प्रमोद कुशवाहा, वडानबर ११ श्रीपुरका ६० बर्षीय चलितर महतो, छपकैयाकी विष्णु लामा, वीरगञ्ज १३ का ६२ वर्षीया शारदादेवी रौनियारलगायत ७ जनाको मृत्यु भइसकेको छ । वीरगञ्जका स्वास्थ्य संस्था कति गैरजिम्मेवार छन् भन्ने थाहा पाउन विष्णु लामाको मृत्युको एउटा उदाहरण काफी छ ।

यसरी उपचार अभावमा बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारले तत्काल शल्यक्रियानै गर्नु पर्ने बिरामी आए पनि उपचार गर्न पटकपटक अस्पताल र स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ ।

उपचारका लागि कुनै अस्पतालमा पुगेको बिरामीको उपचार नपाई मृत्यु भएमा र सम्बन्धित अस्पताल नै जिम्मेवार हुने र उसलाई कडा कारबाही हुने सरकारको चेतावनी पनि छ ।

तर पनि सरकारको निर्देशन र चेतावनी कागजमै सीमित छ । दिनहुँ उपचार अभावमा बिरामीको मृत्यु भइरहेको छ । तर इमर्जेन्सी परेर आएका बिरामीको उपचार नगर्ने कुनै पनि स्वास्थ्य संस्था र चिकित्सकलाई कारबाही भएको छैन । जसले गर्दा सामान्य मान्छेले अपर्झट बिरामी परेमा उपचार नै नपाई ज्यान गुमाउनु पर्ने खतरा बढ्दो छ । त्यसैले अब सरकार निर्देशन र चेतावनीमा होइन, सिधै एक्सनमा जानुपर्छ र कारवाही गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *