Main News

कोरोना महामारीमा पनि प्रदेश पाँचबाट कामको खोजीमा भारत जानेको लर्को (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते १३:३१
कोरोना महामारीमा पनि प्रदेश पाँचबाट कामको खोजीमा भारत जानेको लर्को (भिडियोसहित)

२६ भदौ, २०७७, नेपालगञ्ज । कोरोना संक्रमणका हिसाबले भारत विश्वमै सबैभन्दा जोखिमयुक्त मुलुक भए पनि दैनिक सयौंको संख्यामा नेपाली रोजगारीको खोजीमा त्यसतर्फ जाने क्रम रोकिएको छैन ।

सुदूरपश्चिममा मात्रै होइन प्रदेश ५ का नाकामा पनि अहिले भारत जानेको लस्कर देख्न सकिन्छ ।

नेपालगन्ज नाका हुँदै दैनिक करिब २ सयको हाराहारीमा नेपाली भारत गइरहेका छन । र यो संख्या दिनहुँ बढ्दो छ ।

यसरी जानेमा भारतमा आधार कार्ड भएका, काम गर्ने कम्पनीको परिचय पत्र बनाएका तथा रोजगार कम्पनीले बोलाएका नेपाली बढी छन् । भारत जानेको लस्करमा दुधे बालक बोकेका महिलादेखि ससाना बालबालिका पनि छन् ।

लामो समयदेखि लकडाउनका कारण रोजीरोटी गुम्दै गएका कारण गरिब तथा विपन्न वर्गका नागरिक अहिले समस्यामा परेका छन् । उनीहरुलाई अहिले छाक टार्न पनि हम्मेहम्मे पर्न थालेको छ । कोरोनाको जोखिम भए पनि भोको पेटका लागि ज्यान जोखिममा राखेर भारत जान लागेको उनीहरु बताउँछन् ।

पछिल्ला दिनमा नेपालगन्ज–रुपैडिया, धनगढी–गौरीफन्टा, महेन्द्र नगर–गड्डाचौकी नाका हुँदै ठुलो संख्यामा नेपाली भारत गइरहेका छन् । साँझ बिहान हातमुख जोर्न गाह्रो भएपछि भारत पस्नुको विकल्प नभएको उनीहरुको गुनासो छ । यो लस्कर रोक्न सरकारी निकायले भने कुनै प्रयास गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *