Main News

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, आज १२४५ थपिए, थप ५ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २५ गते १८:१४
नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, आज १२४५ थपिए, थप ५ जनाको मृत्यु

२५ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । पछिल्लो पटक एकैदिन १२ सय ४६ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै नयाँ संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा मात्रै ४ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमण शुरु भएयता कुनै पनि जिल्लामा एकैदिन यति धेरै संक्रमित भेटिएको पहिलो हो । ललितपुरमा ४३ र भक्तपुरमा ३४ संक्रमित थपिएका छन् । नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

पछिल्लो पटक उपत्यकापछि प्रदेश ५ मा धेरै संक्रमित थपिएका छन् । बाँकेमा ७०, रुपन्देहीमा ५१, कपिलवस्तुमा ४४, नवलपरासी पश्चिममा ३७ तथा पाल्पामा २९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का जिल्लामध्ये सबैभन्दा बढी सर्लाहीमा ४२ तथा सप्तरीमा ३५ संक्रमित थपिएका छन् । मकवानपुरमा पनि थप ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकको संख्या ३ सय १७ पुगेको छ । काठमाडौंका ५९ वर्षीय र ८३ वर्षीय पुरुष तथा ५५ वर्षीय महिलाको मृत्यु भएको छ ।

यस्तै चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक थप १८ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो । गत २४ घण्टामा ११ हजार १ सय ४४ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *