Main News

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, १०४१ नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ २० गते १६:३५
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, १०४१ नयाँ संक्रमित थपिए

२० भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक थप ९ जनाको मृत्यु भएको छ । नेपालमा मृतकको संख्या २ सय ८० पुगेको सरकारले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंका तीन, मोरङ, पर्सा, महोत्तरी, मकवानपुर, नवलपरासी र रुपन्देहीका एक–एक जनाको मृत्यु भएको हो । मृतकमा तीन जना महिला छन् ।

यसवाहेक विराटनगरस्थित कोशी अस्पतालमा विराटनगर महानगरपालिका वडा नम्वर–४ की ६४ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार दिउँसो भर्ना गरिएको थियो । मोरङको धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको आज विहान ११ बजे मृत्यु भएको छ ।

ज्वरो आउनुका साथै स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनलाई गएराति कोभिड अस्पतालमा लगिएको थियो । यी विवरण स्वास्थ्य मन्त्रालयले आफ्नो सूचीमा समेटेको छैन ।

मन्त्रालयले भनेकामध्ये मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिकाकी ३७ वर्षीया महिला र बुटवल उपमहानगरपालिका वडा नम्वर–११ का ४० वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको थियो ।

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए ।

यस्तै वीरगञ्जको अस्थायी कोभिड अस्पतालमा मृत्यु भएका ७५ वर्षीय पुरुष पकाहामैनपुर गाउँपालिका वडा नम्वर २ का हुन् । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ५ गते अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच नेपालमा आज १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । सबैभन्दा बढी काठमाडौंमा ३ सय २६
जना नयाँ संक्रमित भेटिएका छन् । ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन् । उपत्यकावाहिर रुपन्देहीमा ७१ र बाँकेमा ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणमुक्त हुनेको संख्या बढेको छ । पछिल्लो पटक १५ सय ६६ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा १२ हजार ४ सय ७३ नमूनाको पीसीआर विधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुलुकमा कोरोनाका १९१ जना गम्भीर बिरामीको ८आईसीयूमा र भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १६७ जनाको आईसीयूमा र २४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो।

आईसीयूमा राखेर उपचार भइरहेका बिरामीहरू प्रदेश–१ मा ३ जना, प्रदेश–२ मा २८ जना, बागमती प्रदेशमा १०८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश–५ मा २० जना र कर्णाली प्रदेशमा ३ जना छन्।

त्यस्तै प्रदेश–१ मा १ जना, बागमती प्रदेशमा २० जना र प्रदेश५ मा ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *