बागलुङ पहिरोमा मृत्यु भएकामध्ये चार जनाको सनाखत

१९ भदौ, २०७७, बागलुङ । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका वडा नम्वर ९ बोबाङमा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ ।
सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुनेछ । १० शवको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बुधबार राति आएको बाढी र पहिरोले वस्तीमा क्षति पुर्याएको छ ।
केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् ।
कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको भनाइ छ । बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ ।
स्थानीयले ३५ जना बेपत्ता भएको बताएका छन् । कतिपयको घरमा पाहुनाहरु पनि आएकाले बेपत्ता भएकाहरुको संख्या एकिन भएको छैन ।
प्रतिक्रिया