Main News

देशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १७ गते १२:५५
देशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

१७ भदौ, २०७७, काठमाडौं । कोरोना भाइरसको संक्रमण पछिल्लो पटक ६ जनाको मृत्यु भएको छ । काठमाडौं र रुपन्देहीमा २–२ तथा ललितपुर र पर्सामा एक–एक जनाको मृत्यु भएको हो ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसीयूमा उपचाररत २ जना कोरोना संक्रमितको हिजो साँझ मृत्यु भएको छ । मधुमेह र रक्तचापका बिरामी काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिलाको शिक्षण अस्पतालमा मृत्यु भएको हो । महिलामा बाथरोग र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी हिजो अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवास्थित भीम अस्पतालमा उपचाररत रामग्राम नगरपालिका नवलपरासीकी ६५ वर्षीया महिलाको आइसीयुमा मृत्यु भएको छ । संक्रमण पुष्टि पश्चात बुटवल धागो कारखानाको कोरोना विशेष अस्पतालमा लगेकोमा त्यहाँ आइसियु नभएपछि उनी भदौ १५ गतेदेखि भीम अस्पतालमा उपचाररत थिइन् ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु कृष्णनगरकी ६० वर्षीय महिलाको मृत्यु भएको छ । उनी यही भदौ ७ गते कोरोना पोजेटिभ भइ अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन ।

कोरोना संक्रमणकै कारण भक्तपुरका थप एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको ललितपुरको पाटन अस्पतालमा गएराति मृत्यु भएको हो । १५ दिनअघि संक्रमण देखिए लगत्तै उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । त्यसपछि उनकी आमामा संक्रमण देखिएको थियो । चार दिनअघि उनकी ६२ वर्षीया आमाको पनि पाटन अस्पतालमै मृत्यु भएको थियो । मृतकका परिवारका अन्य ६ जनामा पनि संक्रमण देखिएपछि सबै होम आइसोलेशनमा छन् ।

त्यस्तै नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्जमा उपचाररत कोरोना संक्रमित एक वृद्धका मृत्यु भएको छ। मृतक बाराको सिम्रौनगढ नगरपालिकाका ९७ वर्षीय पुरुष हुन्। यही भदौ १२ गते तराई अस्पताल वीरगञ्जमा उपचार गराउन पुगेका उनको त्यही अस्पतालमा स्वाब संकलन भएको थियो। संक्रमण पुष्टि भएपछि भदौ १४ गते कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *