Main News

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

हिमालय टिभी
२०७७ भदौ १६ गते १८:२०
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

१६ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक थप १५ जनाको मृत्यु भएको छ । चितवन र काठमाडौंका चार–चार, पर्साका तीन, सुनसरी, मकवानपुर, बारा र सिरहाका एक–एक जनाको मृत्यु भएको हो ।

चितवनको भरतपुर अस्पतालमा हिजो दिउँसो मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ११ का ६५ वर्षीय पुरूष , सोही वडाकै १८ वर्षीया युवती र खैरहनी नगरपालिका वडा नम्वर १३ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो ।

यस्तै चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिकाका ५८ वर्षीय पुरूषको पनि उपचारका क्रममा मृत्यु भएको छ । अस्ती उपचारका लागि भर्ना भएका उनमा हिजो संक्रमण पुष्टि भएको थियो । चितवनकै ५२ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेसहित चार जनाको मृत्यु भएको छ । लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित चालिसेको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । पाँच दिनअघि अस्पताल भर्ना भएका ७० वर्षीय चालिसेलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, काठमाडौंमै केन्द्रीय कारागारका एकजना कैदीको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको पाटन अस्पताल ललितपुरमा गएराती मृत्यु भएको हो ।

काठमाडौंमै ७८ वर्षीय पुरुष र ३५ वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।

यसैगरी, कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको जनाको मृत्यु भएको छ। हेल्थ केयर अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्वर २० हरपतगञ्जका ५३ वर्षीय पुरुष तथा गण्डक कोभिड अस्पतालमा बाराका ६० वर्षीय पुरुषको मृत्यु भएको छ । पर्सामा ८० वर्षीय वृद्धको संक्रमणबाट मृत्यु भएको सरकारले जनाएको छ । वीरगंजमा मृत अवस्थामा भेटिएका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहा मिर्चैयाका ६५ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, हिजो मृत्यु भएका धरान उपमहानगरपालिका वडा नम्वर ११ का ६४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । मृत्युपछि स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक ११ जनाको मृत्यु भएको जनाएको छ । उसले धेरै विवरण समावेश गरेको छैन् । कतिपय तीनदिन अघि मृत्यु भएकाको पनि दोहोर्‍याएर सूचीमा समावेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *