Main News

कोरोना संक्रमणबाट पूर्व न्यायाधीशसहित १३ जनाको मृत्यु, १०६९ जना नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ १६ गते १७:०६
कोरोना संक्रमणबाट पूर्व न्यायाधीशसहित १३ जनाको मृत्यु, १०६९ जना नयाँ संक्रमित थपिए

१६ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक पूर्वन्यायाधीशसहित १३ जनाको मृत्यु भएको छ । चितवन र पर्सामा चार–चार काठमाडौंमा ३ तथा सुनसरी र ललितपुरमा एक,एक जनाको मृत्यु भएको हो ।

चितवनको भरतपुर अस्पतालमा हिजो दिउँसो मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ११ का ६५ वर्षीय पुरूष , सोही वडाकै १८ वर्षीया युवती र खैरहनी नगरपालिका वडा नम्वर १३ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भईसकेपछि नमुना संकलन गरिएको थियो ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा तीनैजनामा संक्रमण देखिएको छ । यस्तै चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिकाका ५८ वर्षीय पुरूषको पनि उपचारका क्रममा मृत्यु भएको छ । अस्ती उपचारका लागि भर्ना भएका उनमा हिजो संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंमा कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित चालिसेको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । पाँच दिनअघि अस्पताल भर्ना भएका ७० वर्षीय चालिसेलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त हुनुभएको थियो ।

यस्तै, काठमाडौंमै केन्द्रीय कारागारका एकजना कैदीको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको पाटन अस्पताल ललितपुरमा गएराती मृत्यु भएको हो ।

काठमाडौंमै ३५ वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको जनाको मृत्यु भएको छ। हेल्थ केयर अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्वर २० हरपतगञ्जका ५३ वर्षीय पुरुष तथा गण्डक कोभिड अस्पतालमा बाराका ६० वर्षीय पुरुषको मृत्यु भएको छ । पर्सामा ८० वर्षीय वृद्धको संक्रमणबाट मृत्यु भएको सरकारले जनाएको छ । वीरगंजमा मृत अवस्थामा भेटिएका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहा मिर्चैयाका ६५ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, हिजो मृत्यु भएका धरान उपमहानगरपालिका वडा नम्वर ११ का एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्युपछि स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौं उपत्यकामा आज कीर्तिमानी संख्यामा कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा अहिलेसम्मकै धेरै एकैदिन ३ सय ९३ संक्रमित भेटिएका छन् । यस्तै ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका छन् ।

उपत्यका र काठमाडौं जिल्लामा एकैदिन भेटिएको यो अहिलेसम्मकै उच्च संख्या हो । पछिल्लो पटक देशभर १ हजार ६९ नयाँ संक्रमित भेटिएका छन् । रुपन्देहीमा ९१ र सुनसरीमा ५६ संक्रमित थपिएका छन् । नेपालमा संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

गत २४ घण्टामा १२ हजार ८८ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । थप ७ सय ६८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *